Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

३९६ स्थानीय तहमा अस्पताल, सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गरिँदै

३९६ स्थानीय तहमा अस्पताल, सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गरिँदै

काठमाडौं, १५ मंसिर । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवन बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तह पाँचदेखि १५ शय्याको अस्पताल बनाउन लागेको हो ।
आज (सोमवार) विभिन्न मन्त्रीहरू, संघीय सांसदका साथै स्थानीय तहका प्रमुखहरूले यी सबैको एकसाथ शिलान्यास गर्ने कार्यक्रम रहेको छ, जसअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्दै छन् । यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवन र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
सरकारले यसै आर्थिक वर्षमा सातओटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सातओटै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल भवनको शिलान्यास हुन लागेको राससमा उल्लेख छ । हाल मुलुकमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ ।
स्थानीय तहमा बन्ने अस्पताल भवनको संघीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्नेछन् । यसअघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन बनाउन लागिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x