कुमारी बैंकको २०औंं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं, २९ मंसिर । कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा आइतवार कम्पनीको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६÷०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७६÷०७७ को लागि १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ८७ करोड हुनेछ ।
आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप रु. १२४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम रु. ११५ अर्ब १३ करोड प्रवाह गरी संचालन मुनाफा रु. २ अर्ब १४ करोड तथा रु.१ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७÷०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप रु. १२२ अर्ब २९ करोड तथा कुल कर्जा रकम रु. ११५ अर्ब १९ करोड गरी रु. ८६ करोडको संचालन मुनाफा र रु. ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे बैंकले जानकारी दिएको छ । हाल बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १८६ शाखा संजाल, १५० एटिएम्, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।