मर्जको शुभ समाचार सुन्न अब धेरै दिन कुर्नु पर्दैन् : हिमालयन बैंकका सिईओ राणा
काठमाडौं, २० पुस । निजी क्षेत्रको अग्रणी बैंक हिमालयन बैंकले छिट्टै मर्जको टुंगो लगाउने जनाएको छ । बजारमा हिमालयन बैंकको मर्जरको विषयलाई लिएर निकै चर्चा चलेको भन्दै प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अब छिट्टै सबैले शुभ समाचार सुन्न पाउने बताए ।
मर्जर लागि एक संस्थासँग अन्तिम चरणको छलफल भइरहेको पनि उनले जानकारी दिए । ‘बैंकले मर्जर कमिटि गठन गरेको छ,’ प्रमुख कार्यकारी अधिकृत राणाले अर्थको अर्थसँग भने, ‘त्यसले आवश्यक गृहकार्य गरिरहेको छ । अब छिट्टै टुंगोमा पुग्छौ । त्यसपछि त सबैलाई थाहा भइहाल्न नी । ’
बैंकले सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर–एक्युजिसन उपसमिति गठन गरेको छ ।
पछिल्लो समय बजारमा हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने चर्चा चलेको छ। साधारणसभामा इन्भेष्टमेन्ट बैंकले मर्ज प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण रूपमा अख्तियारी दिने प्रस्ताव गर्दैछ। बैंकको साधारणसभा माघ ८ गतेका लागि आह्वान गरिएको छ ।
यस्तै हिमालयन बैंकले पनि साधारणसभाबाट मर्जका सबै प्रक्रिया सञ्चालक समितिलाई दिदै छ । बैंकको साधारण सभा पुस २७ गतेका लागि बोलाइएको छ। दुवै बैंकको साधारण सभाबाट अख्तियारी हस्तान्तरण प्रस्ताव पारित भएपछि एकअर्कासँग गाभिने प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ।
उसो त बजारमा हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने चर्चामा पनि उत्तिकै छ ।