शिखर इन्स्योरेन्सले गर्याे लाभांश घोषणा
काठमाडौं, २१ पुस । शिखर इन्स्योरेन्स कम्पनी लमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हकप्रदपछि कायम चुक्ता पूँजीको २७.७६९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३६.१ प्रतिशत बोनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो। यद्यपी, यस आर्थिक वर्षमा इन्स्योरेन्सले हकप्रद जारी गरी चुक्ता पूँजी बढाइसकेका कारण हकप्रद शेयरपश्चातको चुक्ता पूँजीका आधारमा लाभांश २९.२३१ प्रतिशत हुन आएको हो।
२०७७ असार मसान्तसम्म इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ थियो भने आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले हकप्रद जारी गरी चुक्ता पूँजी १ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।