नेपालगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

नेपालगञ्ज, ८ माघ । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले चालू आवको ६ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले पुस मसान्तसम्ममा लक्ष्यभन्दा दुई अर्ब ३२ करोड बढी राजस्व असुली गरेको हो ।
भन्सार कार्यालयले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सात अर्ब ५८ करोड राजस्व असुलीको लक्ष्य पाएकोमा ९ अर्ब ९० करोड संकलन गरेको हो, जुन निर्धारित लक्ष्यभन्दा ३० दशमलव ६० प्रतिशत बढी हो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा १७७ प्रतिशत राजस्व असुली गरेको नेपालगञ्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३० प्रतिशत राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
भन्सार कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजस्व असुली गर्ने लक्ष्य रहेको छ । राजस्व संकलनको अवस्था हेर्दा उक्त लक्ष्य सजिलै हासिल हुने देखिएको छ ।