आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनालीको नियुक्ती हल्लै मात्र, सक्षम र इमान्दार नेतृत्वको खोजीमा अर्थ
काठमाडौं, ३ फागुन । गत मंगलबार आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएको समाचार विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन भए ।
महानिर्देशक विनोदबहादुर कुँवरको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएपछि खाली रहेको महानिर्देशकको जिम्मेवारी मैनालीलाई दिइएको समाचारमा उल्लेख गरिएको थियो । तर मैनालीले आजसम्म पनि यसबारे आफूलाई आधिकारीक जानकारी नआएको अर्थको अर्थलाई बताए ।
हाल उनी राजस्व अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारीमा छन् ।
आजसम्म आन्तरिक राजस्व विभागको वेबसाइडमा पनि महानिर्देशको पदमा कसैको पनि नाम उल्लेख गरिएको छैन् । गत मंगलबार बजेटको अर्धवार्षिक समिक्षा गर्दै मन्त्री विष्णु पौडेलले छिटै विभागमा महानिर्देशक नियुक्त गर्ने बताएका थिए । तर नाम भने कसैको पनि नतोकेको भएपनि सञ्चारमाध्यमले हचुवाको भरमा समाचार प्रकाशन गरेको अर्थमन्त्रालयका एक अधिकारीले बताए । ति अधिकारीले अब भने छिटै महानिर्देशकको जिम्मेवारी तोकिने जानकारी दिए ।
मन्त्रालयले कर प्रशासन बुझेको, सवल नेतृत्व क्षमता भएको र इमानदार नेतृत्वको खोजी गरिरहेको बताइएको छ।
स्रोतका अनुसार मन्त्रालयले विभागको नेतृत्व मैनाली सहित सह–सचिव रामेश्वर दंगाल, झक्कप्रसाद आचार्य र चन्द्रकला पौडेल मध्ये एकलाई दिने तयारी गरेको छ। दंगाल मन्त्रालयकै राजस्व व्यवस्थापन महाशाखा प्रमुख छन् । आचार्य अनुगमन तथा मुल्याङ्कन महाशाखा र पौडेल आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशमा कार्यरत छिन्।