कञ्चनपुरमा विमानस्थल सञ्चालनका लागि त्रिपक्षीय सम्झौता
कञ्चनपुर, ४ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित मझगाउँ विमानस्थल सञ्चालनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिका बीच विमानस्थल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
नौ बुदे सम्झौता पत्रमा विमानस्थल निर्माणका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भिमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधराचाँदनी नगरपालिकाले १० प्रतिशत विमानस्थल सञ्चालन लागत व्यहोर्नु पर्ने उल्लेख छ ।
पत्रमा नागरिक उड्डयन प्राधिकरणकोतर्फबाट महानिर्देक राजन पोखरेल, सुदूरपश्चिम प्रदेश सरकारका सचिव यज्ञनाथ दहाल, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्ट र महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले हस्ताक्षर गरेका छन् ।
४ दशकअघि निर्माण भएर पनि चरन वा खेल मैदानमा सीमित कञ्चनपुरको मझगाउँ विमानस्थल ३७ करोडको लागतमा मझगाउँको धावनमार्ग कालोपत्रे गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तह भीमदत्त र दोधारा चाँदनी नगरपालिकाले हातेमालो गरेका छन् ।
सम्झौताअनुसार विमानस्थलको धावन मार्ग १६ सय मिटर लामो हुने छ जसबाट साना आकारका विमान उडान वा अवतरण गर्न सकिने छ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, विघटित प्रतिनिधि सभा सदस्य निरु देवी पाल, नर बहादुर धामी, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकास रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, दोधराचाँदनी नगरपालिकाका प्रतिनिधि ज्ञानेन्द्र बहेक लगायको सहभागिता रहेको थियो । हस्ताक्षरपछि मझगाउँ विमानस्थल सञ्चालनमा स्थानीय आशावादी देखिएका छन् ।