Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

६५ जिल्लामा पुग्यो स्वास्थ्य बीमा कार्यक्रम, यो वर्षभित्र ७७ वटै जिल्लामा विस्तारको लक्ष्य

६५ जिल्लामा पुग्यो स्वास्थ्य बीमा कार्यक्रम, यो वर्षभित्र ७७ वटै जिल्लामा विस्तारको लक्ष्य

काठमाडौं, ५ फागुन । ५ वर्षअघि कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम ६५ जिल्लामा विस्तार भएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार ती जिल्लाका ३५ लाख नागरिकले स्वास्थ्य बीमा गराएका छन् । त्यसबाट ३ अर्ब रुपैयाँको हाराहारीमा बीमा शुल्क संकलन भएको छ ।

यो बीमामा आबद्ध हुन ५ जनासम्म सदस्य भएका घर परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउँछन् भने ५ जना भन्दा बढी सदस्यको हकमा प्रति सदस्य अतिरिक्त ७ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । गरिब र विपन्न परिवारका लागि भने राज्यले नै शुल्कको रकम व्यहोर्ने व्यवस्था मिलाइएको छ ।

बोर्डले चालू आर्थिक वर्ष २०७७÷०७८ भित्रै ७७ वटै जिल्लामा कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ । ‘चालू आर्थिक वर्षभित्र ७७ जिल्लाका सबै स्थानीय तहमा यो कार्यक्रम संचालन गर्ने हाम्रो लक्ष्य छ,’ बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भने, ‘त्यसका लागि आवश्यक तयारीको काम पनि भइरहेको छ । काठमाडौं उपत्यका सहित ठूला शहरी इलाकामा चैतदेखि नै यो कार्यक्रम गर्ने सुरु योजना छ ।’

चालू आर्थिक वर्षभित्र ७७ जिल्लाका सबै स्थानीय तहमा यो कार्यक्रम संचालन गर्ने हाम्रो लक्ष्य छ । त्यसका लागि आवश्यक तयारीको काम पनि भइरहेको छ । काठमाडौं उपत्यका सहित ठूला शहरी इलाकामा चैतदेखि नै यो कार्यक्रम गर्ने सुरु योजना छ ।

कार्यक्रम विस्तारका लागि बोर्डलाई दर्ता सहयोगीको अभाव रहेको पनि उनले बताए । हाल बोर्डसँग ९३ जना मात्र दर्ता सहयोगी छन् । थप २ सय ५ जना सहयोगी भर्नाको प्रक्रिया अघि बढेको उनले जानकारी दिए । अब काठमाडौं उपत्यका सहित बढी जनधनत्व भएको शहरी क्षेत्रमा कार्यक्रम विस्तार गर्नुपर्ने भएकाले पनि कर्मचारी तत्काल भर्ना गर्नुपर्ने आवश्यकता रहेको कार्यकारी निर्देशक बसौलाले बताए ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै जिल्लामा यो कार्यक्रम विस्तार भइसकेको छ । सरकारी चालू वर्षको बजेट मार्फत भने आगामी २ वर्षभित्र बीमामा सबै नागरिकलाई आवद्ध गर्ने सरकारको लक्ष्य छ ।

सेवा प्रदायक संस्थाहरुसँग स्वास्थ्य बीमा बोर्डले ११ सय ३३ प्रकारका औषधिहरू बिमितलाई निःशुल्क रुपमा प्रदान हुनेगरी सम्झौता गरेको हुन्छ । तर अन्य औषधीहरू भने बाहिरबाट किन्नुपर्ने हुन्छ । बीमितहरुले भने सस्तो औषधि निःशुल्क पाउने तर महँगो औषधि भने किन्नुपर्ने अवस्था रहेको गुनासो गर्ने गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x