नेपालगञ्ज नाकामा आईसीपी निर्माण शुरू
नेपालगञ्ज, १७ फागुन । नेपाल र भारत सरकारबीच सम्झौता भएको १५ वर्षपछि नेपालगञ्ज नाकामा आइसिपी (एकीकृत भन्सार जाँच चौकी) निर्माण अघि बढेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा एक महिनादेखि आइसिपी निर्माणको काम शुरू भएको हो । आइसिपी निर्माणका लागि भारतको राजदीप कन्स्ट्रक्सन कम्पनीले २ अर्ब ३५ करोड रुपैयाँमा ठेक्का पाएको छ ।
भारत सरकारसँग भएको सम्झौताअनुसार उक्त ठेकेदार कम्पनीले दुई वर्षभित्रमा काम सम्पन्न गरिसक्नुपर्नेछ । भारत सरकारको सहयोगमा आइसिपी निर्माण गर्न नेपाल सरकारले एक दशकअघि जग्गा अधिग्रहण गरेको थियो । साविकको जयसपुर गाविसमा २०६७ मा नेपाल सरकारले जग्गा अधिग्रहण गरी संरक्षण गरेर राखेको थियो ।
आइसिपी निर्माणका लागि नेपाल सरकारको तर्फबाट सहजीकरण गर्ने जिम्मा शहरी विकास तथा भवन निर्माण विभागलाई दिइएको छ । भारत सरकारले सहमति र प्रतिबद्धताअनुसार नेपालगञ्ज नाकामा आइसिपी निर्माण शुरू गरिसकेको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इन्जिनीयर होमनाथ भुसाललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
सरकारले अधिग्रहण गरेर राखेको जग्गा अन्तिम पटक नापजाँच गरी यकीन भएको ८७ बिघामा दुई हजार २०० मिटर लम्बाइ र ६० मिटर चौडाइमा आइसिपीको एप्रोच रोड निर्माण भइरहेको उनको भनाइ छ । आइसिपी निर्माणका लागि आवश्यक पर्ने सामान आयातमा ठेकेदार कम्पनीलाई कुनै राजश्व र भन्सार महसुल नलाग्ने दुई देशबीचको सहमतिअनुसार मालसामान ल्याउने काम पनि भइरहेको छ ।
आइसिपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रणलगायत कार्यालय रहनेछन् । समयमा आइसिपी निर्माण नहुँदा अहिले नेपालगञ्ज नाका अस्तव्यस्त बन्ने गरेको छ ।