दिगो विकास लक्ष्य प्राप्तिमा आगामी बजेटले राष्ट्रिय गौरवका एवं रूपान्तरणकारी योजनामा जोड दिनुपर्ने
काठमाडौं, २३ फागुन । सन् २०३० भित्रै मुलुकले दिगो विकास लक्ष्य हासिल गर्न यी लक्ष्यहरूको आन्तरिकीकरण र स्थानीयकरणसहित कार्यान्वयनमा तीव्रता दिनेगरी दिगो विकास लक्ष्यमैत्री योजना र तर्जुमा गर्नुपर्ने राष्ट्रिय योजना आयोगले सुझाएको छ । शुक्रवार ‘आगामी आर्थिक वर्ष २०७८/७९ को जबेट थता राष्ट्रिय मध्यकालीन खर्च संरचनाको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा २०७७’ सार्वजनिक गर्दै आयोगले यस्तो सुझाव दिएको हो ।
चालू आर्थिक वर्ष पन्ध्रौं योजना (२०७६/७७–२०८०/८१) दोस्रो वर्ष हो । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक विकास कार्यक्रम तथा बजेट तर्जुमा गर्दा राष्ट्रिय गौरवका आयोजना एवं रूपान्तरणकारी आयोजनाको कार्यान्वयन तथा आर्थिक समृद्धिका आधार निर्माण गर्ने प्रकृतिका विकासका कार्यक्रम तथा आयोजनको छनोट, प्राथमिकीकरण र निर्धारित अवधिभित्र तोकिएको लागतमै सम्पन्न गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।
साथै कोभिड–१९ को कारण प्रभावित क्षेत्र÷उपक्षेत्रलाई प्राथमिकता दिँदै रोजगारी सृजना एवं शीघ्र समग्र अर्थतन्त्रको पुनरुत्थान हुनेगरी पन्ध्रौं योजनाले लिएका लक्ष्य, उद्देश्य तथा अपेक्षित उपलब्धि हासिल हुनेगरी कार्यक्रम छनोट र प्राथमिकीकरण गरी आगामी आवको बजेट र मध्यकालीन खर्च संरचना तर्जुमा गर्नुपर्ने आयोगले बताएको छ ।
आयोगबाट स्वीकृत ‘नेपालमा दिगो विकास लक्ष्यको आवश्यकता पहिचान, खर्चको आकलन र वित्तीय रणनीति’ले दिगो विकास लक्ष्य कार्यान्वयन गर्न नेपाललाई चाहिने आर्थिक स्रोतको आकलन, स्रोतको सम्भाव्य क्षेत्र पहिचान गरेको छ । उक्त प्रतिवेदन अनुसार दिगो विकास लक्ष्य कार्यान्यन गर्न नेपाललाई वार्षिक औसत २० खर्ब २५ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । सो रकममध्ये वार्षिक औसत ११.११ खर्ब सरकारी क्षेत्रबाट, ७ खर्ब ३९ अर्ब निजीक्षेत्रबाट, ८७ अर्ब सहकारी तथा गैरसरकारी क्षेत्रबाट र ८८ अर्ब घरपरिवार क्षेत्रबाट लगानी गर्नुपर्ने अनुमान गरिएको छ ।
उक्त परिस्थितिमा आगामी बजेटले दिगो विकास लक्ष्य २०३० का क्षेत्रगत लक्ष्यसँग सामञ्जस्य गर्दै राष्ट्रिय लक्ष्यहरू हासिल गर्न नेपाल दिगो विकास लक्ष्यको ‘आवश्यकता पहिचान, खर्चको आकलन र व्यवस्थापन रणनीति’ले निर्धारण गरेका क्षेत्रगत वित्तीय आवश्यकतालाई ध्यानमा राखेर योजना तथा कार्यक्रम ल्याउनुपर्ने आयोगले बताएको छ ।