Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

जलविद्युत्को हब बन्दै सुदूरपश्चिम, दर्जनौं आयोजना निर्माणाधीन

जलविद्युत्को हब बन्दै सुदूरपश्चिम, दर्जनौं आयोजना निर्माणाधीन

धनगढी, २४ फागुन । सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौं आयोजना निर्माणाधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ ।

बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरामा केही जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । कतिपय जिल्लामा आयोजनाको सम्भाव्यता अध्ययन सकेर निर्माण कार्य शुरु हुने अवस्थामा छन् ।

बझाङमा मात्रै झण्डै एक दर्जन जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । निजी क्षेत्रको लगानीबाट निमाणाधीन प्रदेशकै सबैभन्दा ठूलो आयोजना कालङगा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यस्तै बुङगल क्षेत्रको कालङगा नदीमा तीन अलगअलग ठाउँबाट निर्माण शुरु गरिएको १० मेगावाटको कालङगा जलविद्युत् आयोजना, ३८.४६ मेगावाटको अपर कालङ्गा जलविद्युत् आयोजना र १६ मेगावाटको सानीगाड जलविद्युत् आयोजना गरी ६५ मेगावाट आयोजनाको काम अन्तिम चरणमा छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचस्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरिसकेको छ । दार्चुलाकै नौगाड गाउँपलिकामा ८ मेगावाट क्षमताको अपर नौगाड र ८.५ मेघावाटको नौगाड जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न भई विद्युत् उत्पादन शुरु भइसकेको छ ।

यस्तै बझाङको तल्कोट गाउँपालिकाको सुनिगाड खोलाबाट चार वर्षभित्र उत्पादन गर्ने गरी २५ मेगावाटको अर्काे आयोजना पनि निर्माणाधीन अवस्थामा छ । तल्लो सुनिगाडबाट १७ मेगावाट र उपल्लो सुनिगाड बाट ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ओमेगा इनर्जी डेभलपर प्रालिले निर्माण शुरु गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण आफैले निर्माण गर्ने गरी तल्कोट गाउँपालिकामै २१० मेगावाटको चैनपुर सेतीखोला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन पूरा भई निर्माणको तयारीमा छ । चिलिमे हाइड्रोपावर प्रालि पनि सेती नदीमै १६५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजना निर्माणको तयारीमा छ । त्यस्तै साइपाल गाउँपालिकामा निर्माण हुने अपर सेती १४० मेगावाटको आयोजनाको लागि निजी क्षेत्रकै समृद्धि हाइड्रोपावर कम्पनीले प्रक्रिया अघि बढाएको छ । दार्चुलाकै मार्मा क्षेत्रमा निजी क्षेत्रकै लगानीमा सुदूरपश्चिम प्रदेशकै दोस्रो ठूलो ६० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना पनि निर्माणाधीन अवस्थामा छ ।

डोटी जिल्लामा १.५५ मेगावाट क्षमताको माथिल्लो गडिगाड जलविद्युत् आयोजना पनि निर्माणको चरणमा छ । अछाममा निर्माण हुने २० मेगावाट क्षमताको बूढीगङ्गा अर्धजलाशययुक्त जलविद्युत् आयोजना पनि निर्माणको तयारीमा छ । यस्तै बेतन कर्णाली हाईड्रोले अछाममै ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

बाजुरामा ४.५ मेगावाटको बडिगाड जलविद्युत् आयोजना निर्मार्ण गर्ने गरी प्रक्रिया शुरु गरेको छ । त्यस्तै ५ मेगावाट क्षमताको बूढीगङ्गा जलविद्युत् आयोजना पनि निर्माणको तयारीमा छ । दार्चुलामा १३.९४ मेगावाट क्षमताको आयुछटी गाड जलविद्युत् आयोजना, ३५ मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजना र १० मेगावाटको मकरीगाड जलविद्युत् आयोजनाले पनि निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x