क्युआर कोडमार्फत हुने भुक्तानी कारोबार बढ्यो
काठमाडौं, ५ चैत । नेपालमा पछिल्लो समय क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबार बढ्दै गएको छ । राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कारोबार संख्या र भुक्तानी परिमाण बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र ४६ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ । गत पुसमा १ अर्ब २४ करोेड ५० लाख बराबरको कारोवार भएकामा माघमा १ अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएको हो ।
गत पुसमा क्यूआर कोडमार्फत तीन लाख ७२ हजार १७६ पटक कारोबार भएकामा माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोवार भएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । अघिल्लो महीनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्बभन्दा बढीको भुक्तानी कारोबार भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत माघमा मात्र १ खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको छ । उक्त प्रविधिको प्रयोग गरी पुसमा २ खर्ब ५३ अर्ब १७ करोड बढीको कारोबार भएको थियो ।