‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ को लागि अनलाइनबाट आवेदन दिन सकिने
काठमाडौं, ५ चैत । लिभिङ विथ आइसिटीले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ को आयोजना गर्ने भएको छ । वैशाख पहिलो सातादेखि शुरु हुने आइडिया फेस्टमा स्थानीय स्टार्टअप र इन्नोभेटिभ आइडिया भएका व्यक्तिहरूले प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
आइसिटी अवार्ड २०२१ को प्रि इभेन्ट क्याम्पियनको रूपमा आयोजना हुन लागेको हो । स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ सातै प्रदेशका प्रमुख शहरहरूमा आयोजना हुनेछन् । वैशाख पहिलो साता प्रदेश नं. १ को विराटनगरबाट शुरू हुने कार्यक्रम जेष्ठ दोस्रो साता सुदूरपश्चिम प्रदेशको धनगढीमा गएर समापन हुने आयोजकले जनाएको छ । यसैगरी प्रदेश २ मा बिरगञ्ज, बागमती प्रदेशमा हेटौडा, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा कार्यक्रम आयोजना हुने प्रेस विज्ञप्तीमा उल्लेख छ ।
फेस्टमा प्रविधि क्षेत्रमा काम गरिरहेका स्थानीय स्टार्टअप र विद्यार्थीका इन्नोभेटिभ प्रोजेक्टहरूले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । चैत १ गतेदेखि खुला गरिएको रजिस्ट्रेशन चैत २५ गतेसम्म जारी रहने इभेन्ट अफिसर मुस्कान प्रसाईंले बताइन् । nepalistartup.com वेबसाइटमा गएर स्टार्टअप वा आइडिया रजिष्टर गर्न सकिने प्रसाईंले जानकारी दिएइन् ।
स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ मा उत्कृष्ट स्टार्टअपहरूका प्रडक्टहरू प्रदर्शनी गरिनेछ ।
हरेक प्रदेशबाट उत्कृष्ट एक स्टार्टअपलाई १० लाख रुपैयाँसम्मको सहुलियत पूर्ण ऋण सुविधा प्रदान गरिनेछ । उत्कृष्ट आइडियालाई ३ लाखसम्मको ‘सिड फण्डिङ’ गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । देशैभर स्र्टाटअप, इन्नोभेसन र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले फेस्ट आयोजना गरिएको लम्सालले जानकारी दिए ।