भूकम्पपछि पुनर्निर्मित आवासमा संरचना विस्तारका लागि कार्यविधि तयार
काठमाडौं, १० चैत । भूकम्पपछि पुनःनिर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई बाटो खुलेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को प्राविधिक सहयोगमा कार्यविधि तयार पारेको हो ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रविन्दु स्थानीय तहलाई बनाउनुपर्ने उल्लेख गरे । सम्बन्धित केन्द्रीय निकायले मेरुदण्डका रूपमा काम गर्नुपर्ने उनले बताए ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का उपनिर्देशक झप्परसिंह विश्वकर्मा र एनसेटका बलियो घर कार्यक्रम व्यवस्थापक रञ्जन ढुङ्गेलले मस्यौदा कार्यविधि तथा १० बुँदे पुस्तिकाका बारेमा प्रस्तुतीकरण दिएका थिए ।
इञ्जिनीयर एवं निर्माण प्राविधिकलाई उपयोगी हुनेगरी विस्तृत इञ्जिनीयरिङ ड्रइङ र डिजाइनसहित कार्यविधिको मस्यौदा तयार गरिएको छ । त्यस्तै घरधनी एवं निर्माणकर्मीले बुझ्नेगरी नेपाली भाषामा १० बुँदे सरल पुस्तिका पनि तयार भएको छ । कार्यविधिले ढुङ्गामाटो तथा सिमेन्टको जोडाइ भएका घरमा दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी ढङ्गले विस्तार गर्न सकिनेबारे विस्तृत उल्लेख गरेको छ । तला थप्नका लागि भने यसअघि तयार भइसकेको ‘हाइव्रिड स्ट्रक्चर म्यानुअल’ उपयोगी हुनेछ ।