अलैंची निर्यातमा ४८ प्रतिशत वृद्धि

काठमाडौं, २० चैत । मुलुकबाट हुने अलैंचीको निर्यात करिब आधाले बढेको छ । भन्सार विभागको चालू आर्थिक वर्षको पछिल्लो ७ महिनाले तथ्यांक अनुसार अचैंली निर्यातको दोस्रो स्थानमा रहेको छ । अलैंची निर्यातबाट भएको आम्दानी कुल निर्यातको ६.१ प्रतिशत रहेको छ ।
विभागका अनुसार माघ मसान्तसम्ममा नेपालबाट रू. ४ अर्ब २५ करोडको अलैंची निर्यात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ७ महिनामा मुलुकबाट रू. २ अर्ब ८७ करोड बराबरको अलैंची निर्यात भएको थियो ।
नेपालमा उत्पादित अलैंची अधिकांश भारत र पाकिस्तानमा निर्यात हुने गरेको छ । चालू आवको सो अवधिमा पनि निर्यातको अधिकांश हिस्सा भारततर्फ र त्यसपछि पाकिस्तानसहित अन्य मुलुकमा भएको तथ्यांकले देखाएको छ ।
मुलुकमा वार्षिक वार्षिक करिब ९० करोड केजी अलैंची उत्पादन हुने गरेको अनुमान छ । देशभरका विभिन्न ४३ वटा जिल्लामा अलैंची उत्पादन हुने गरेको छ ।