प्रभु क्यापिटलद्वारा शेयर बजार सम्बन्धी तालिम सम्पन्न
काठमाडौं, २२ चैत । प्रभु क्यापिटल लिमिटेडले राजधानी कलेज एमबिएमा अध्ययनरत विद्यार्थीहरुलाई शेयर बजार सम्बन्धी १ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले २१ गते शनिबार उक्त तालिम आयोजना गरेको हो ।
कार्यक्रममा कलेजका एमबिएमा अध्ययनरत करिब ३० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजार सँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
यसैगरी चैत्र २१ गते शनिबार नै इटहरी जेसिजको आयोजना तथा प्रभु क्यापिटल लिमिटेडको सहआयोजनामा इटहरीमा १ दिने शेयर बजार सम्बन्धी आधारभुत तालिम कार्यक्रम सम्पन्न गरेको छ । इटहरीको दुर्गा पार्टी प्यालेसको तालिम हलमा सञ्चालित तालिममा १५० भन्दा बढीले सहभागीता जनाएको क्यापिटलले बताएको छ ।
शेयर बजार सम्बन्धी आधारभुत कुराहरु, प्राथमिक तथा दोश्रो बजार, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा हुने प्रतिफलको फाइदा, आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण सम्बन्धी विषयहरु समेटेर तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।
तालिम कार्यक्रम प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरी, प्रशिक्षक सन्तोष राज बजगाईं तथा अशोस सिटौलाले प्रदान गरेका थिए ।