Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सम्मानित निजीक्षेत्र, समुन्नत नेपाल

सम्मानित निजीक्षेत्र, समुन्नत नेपाल

शेखर गोल्छा, अध्यक्ष ः नेपाल उद्योग वाणिज्य महासंघ

मेरै जीवनकालमा हाम्रो मुलुकमा अभूतपूर्व रूपान्तरण देखेको छु । म आम नेपाली जनताको उत्थानशीलता, धेर्य र साहसको प्रशंसक पनि हुँ । मुलुकमा राजनीतिक रूपान्तरणको प्रक्रियामा निजीक्षेत्र सधैं अर्थतन्त्रको मेरुदण्डका रूपमा रहिआएको छ र निजीक्षेत्रले नै कठिन समयमा अर्थतन्त्रलाई डुब्नबाट जोगाएको छ । निजीक्षेत्रको सशक्त उपस्थितिले आज अर्थतन्त्रको विस्तार, गुणात्मक र प्रतिस्पर्धी सेवा सबैको पहुँचमा पु¥याउन सक्षम भएका छौं ।

विद्यमान सन्दर्भमा नेपाल चौबाटोमा छ । सामाजिक–आर्थिक रूपान्तरण मात्र होइन, २०७२ सालको महाभूकम्पले पु¥याएको क्षतिको दीर्घकालीन असरसँग जुझ्दाजुझ्दै हाम्रो अर्थतन्त्र पुनः विश्वव्यापी कोरोना भाइरस महामारीको प्रतिकूल प्रभावसँग सामना गरिरहेको छ । यस्तो परिस्थितिबाट पुनः सामान्य अवस्थामा फर्किनु अत्यन्त कठिन कार्य हो । तर अर्थतन्त्रका एक्टर (कर्ता)हरूबीच आपसी समन्वय, सहजीकरण र साथ सहयोग भएको खण्डमा अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउन र अघि बढाउन सम्भव छ । एउटा सत्य के हो भने हामीले सबै पक्षको समन्वयमा काम गर्न सक्यौं भने हरेक संकट एउटा अवसरका रूपमा स्थापित हुन सक्नेछ र अहिलेको हाम्रो अवस्था पनि फरक छैन । आज हामीले जुन चुनौतीको सामना गरिरहेका छौं । यो वास्तवमा हाम्रा लागि नवप्रवर्तनका माध्यमबाट भोलिका दिनमा अझै सशक्त ढंगले उदाउने अवसर पनि हो । यी सबै तथ्यलाई मध्यनजर गरी नेपाल उद्योग वाणिज्य महासंघले सन् २०३० सम्म नेपालको आर्थिक रूपान्तरण गर्ने सोचका साथ दृष्टिपत्र हालै सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा उद्योग वाणिज्य दिवसको अवसर पारेर महासंघले ‘राष्ट्रिय आर्थिक रूपान्तरण, २०३०’ सार्वजनिक गरेको छ ।

सन् २०३० सम्मको अवधि हाम्रा लागि हरेक हिसाबले महत्वपूर्ण छ । एकातिर सक्रिय जनसंख्या अर्थात् काम गर्ने जनसंख्याको हिस्सा ठूलो छ । यो जनसांख्यिक लाभलाई हामीले राष्ट्रको रूपान्तरणमा प्रयोग गर्नुपर्छ । नवप्रवर्तनमा आधारित उद्यमशीलता, प्रविधिको परिचालन (लेभरेज), पूर्वाधार विकास तथा उत्पादन शृंखलाको विकास र निर्यात प्रवद्र्धनका माध्यमबाट सन् २०३० सम्ममा हामी दिगो विकास लक्ष्यका साथै मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुनुपर्नेछ । यसैबीचमा हाम्रो मुलुक विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै छौं । त्यसलाई समेत दृष्टिगत गर्दै आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्रता दिनुपर्नेछ ।

नेपाल उद्योग वाणिज्य महासंघले संरचनागत आर्थिक रूपान्तरण गर्ने सोच ‘राष्ट्रिय आर्थिक रूपान्तरण, २०३०’ मार्फत अघि सारेको छ । यसमा धेरै सरोकारवालाहरूको सहभागिता, सक्रिय भूमिका र सहयोग तथा क्रियाशील निजीक्षेत्रको परिकल्पना गरिएको छ । यसमा मुख्यतः तीनवटा आकांक्षा महासंघले अघि सारेको छ ।

१. सन् २०३० सम्ममा दोहोरो अंकको आर्थिक वृद्धिका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पु¥याउने ।
२. उच्च आर्थिक वृद्धिका माध्यमबाट उक्त अवधिमा २२ लाख अतिरिक्त रोजगारी सृजना
३. सन् २०३० सम्ममा कुल गार्हस्थ्य उत्पादनमा व्यापार घाटाको हिस्सा ५० प्रतिशतले घटाएर आत्मनिर्भर तथा उत्थानशील अर्थतन्त्र निर्माण

यी सोच र लक्ष्यका आधारमा, नेपालको आर्थिक रूपान्तरण, २०३० ले दश प्रमुख क्षेत्र र एक सय पहलको संक्षिप्त सूची तयार पारिएको छ । यी पहलहरूलाई ७० वटा पहलमा एकीकृत गरिएको छ र ४० वटालाई प्राथमिकीकरण गरिएको छ । सरकार र नेपाल उद्योग वाणिज्य महासंघका विगत र वर्तमानका प्रयासहरूलाई अघि बढाउने मार्गचित्र परिभाषित गरिएको छ ।

राष्ट्रिय आर्थिक रूपान्तरण, २०३० ले नेपालाई आर्थिक चमत्कारतर्फ अघि बढाउनेछ । यसको कार्यान्वयन सरकार, विकास साझेदार र आम जनतासँगको निकट साझेदारीमा मात्र अघि बढाउन सकिन्छ । राष्ट्रिय आर्थिक रूपान्तरण, २०३० अर्थात् यो सोचपत्र समावेशी हिसाबले र धेरैथरी सरोकारवालासँग बृहत् तथा गहन हिसाबले छलफल र परामर्श गरी तयार पारिएको छ । यो दृष्टिपत्र हामीले नेपाल सरकारको सोच, लक्ष्य र कार्यक्रमहरूलाई समेत ध्यानमा राखेर तयार पारेका छौं ।
आर्थिक रूपान्तरण, २०३० मा समावेश सोचलाई कार्यान्वयन गर्न महासंघभित्र अध्यक्षको नेतृत्वमा कार्यान्वयन इकाइ गठन गरिएको छ । यो सोचपत्र कार्यान्वयनका लागि आवश्यक संस्थागत विकास, समन्वय र कार्यान्वयनका लागि लिइएका पहलहरूलाई उक्त इकाइले अनुगमन गर्नेछ ।
आर्थिक रूपान्तरण, २०३० सबैको साझा दस्तावेज हो । समृद्धि र उच्च आर्थिक वृद्धिका लागि आबद्ध गर्दै क्रियाशील बनाउनेतर्फ निजीक्षेत्र अघि बढेको छ । नेपाल उद्योग वाणिज्य महासंघ लक्षित उपलब्धिहरू हासिल गर्नेतर्फ प्रतिबद्ध छ र यसमा हामीले सबै सरोकारवालाको साथ खोजिरहेका छौं ।

निजीक्षेत्रको योगदान र भूमिका व्यापक हुँदाहुँदै पनि निजीक्षेत्रलाई सम्मान गर्ने परिपाटी आजसम्म विकास हुन सकेको देखिँदैन । मुलुकमा उत्पादन, रोजगारी र गुणस्तरीय तथा प्रतिस्पर्धी सेवा प्रवाहमा निजीक्षेत्रले निर्वाह गरेको भूमिकालाई उचित सम्मान दिन आवश्यक छ । सबै पक्षबाट हुने राम्रो कामलाई प्रशंसा गर्नुपर्छ । निजीक्षेत्रलाई हतोत्साही गर्नुप¥यो भने नाफाखोरी र नाफामुखी जस्ता आरोप लगाइन्छ । विकास, थप लगानी र रोजगारी सृजनाका लागि निजीक्षेत्रले नाफा गर्न जरुरी छ ।

निजीक्षेत्रको हातेमालो, सरकारसँग समन्वय र सहजीकरण विकास साझेदार र आम जनताको सहयोग र समर्थनबाट हामी समृद्धि हासिल गर्न सक्षम हुनेछौं । र, वास्तवमै ‘सम्मानित निजीक्षेत्र, समुन्नत नेपाल’को सोचलाई जीवन्तता प्रदान गर्न सक्छौं ।

(यो लेख अर्थको अर्थ विशेषंकबाट साभार गरिएको हो ।)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x