४८ हजार ८६० ऋणीले पाए पुनर्कर्जा, १ खर्ब २३ अर्ब लगानीमा
काठमाडौं, ३१ वैशाख । आर्थिक क्रियाकलाप बिस्तारका लागि सहुलियत ब्याजदरमा उपलब्ध गराउने व्यवस्थासहित ल्याइएको पुनर्कर्जा लिने ऋणी ४८ हजार ८ सय नाघेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार उक्त बैंकले प्रदान गर्दै आएको पुनर्कर्जा चालू आर्थिक वर्षको ९ महिनामा कुल ४८ हजार ८६० ऋणीहरूले पाएका छन्, जसअनुसार १ खर्ब २३ अर्ब १४ करोड रुपैयाँ लगानीमा रहेको छ ।
समीक्षा अवधिमा ८९ हजार ८७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब ४२ अर्ब २ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकको तथ्यांक छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जा अन्तर्गत ४२ हजार ४ सय ४७ ऋणीलाई प्रवाह भएको कर्जा ९६ अर्ब ६० करोड छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ४५ हजार १२८ महिला उद्यमीलाई ४२ अर्ब १६ करोड कर्जा प्रवाह भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३०४ ऋणीको ३ अर्ब २६ करोड कर्जा बक्यौता छ ।
यसैगरी ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७७ चैत मसान्तसम्ममा ४२ करोड प्रवाह भएको छ ।