१ वर्षभित्र सीजी कम्युनिकेशनले उपत्यकामा इन्टरनेट सेवा विस्तार गर्ने
काठमाडौं, १८ जेठ । सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । उपभोक्ताकेन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा बिल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ ।
कम्पनीले सुरुमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा इन्टरनेट सेवा उपलब्ध गराउँने बताएको छ । तत्कालका लागि जावलाखेल, झम्सीखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको इन्टरनेट सेवाको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।
१२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने जनाइएको छ । हालका लागि सीजी डिजिटलका शाखा जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने बताइएको छ ।