शेयर कारोबार रोक्का भएपछि खानिखोलाले गर्याे वित्तीय विवरण सार्वजनिक
काठमाडौं, २२ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर कारोबार रोक्का गरेपछि खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ९ करोड ९० लाख रुपैयाँभन्दा बढी घाटामा रहेको वित्तीय विवरण सार्वजनिक गरेको हो । नेप्सेले गत बिहीबार लामो समय वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै खानिखोलाको शेयर कारोबार रोक्का गरेको थियो ।
यो कम्पनीले २०७६ पुसयता वित्तीय विवरण सार्वजनिक गरेको थिए ।
वित्तीय विवरण सार्वजनिक नै नगरेका कम्पनीको शेयर मूल्य लगातार बढेपछि ३ हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का गर्न लगानीकर्ता केशव कोइरालाले नेपाल धितोपत्र बोर्डमा उजुरी दिएका थिए । उनले खानिखोला, जोशी र हिमाल दोलाखा हाड्रोपावरले धितोपत्र नियम अनुसार वित्तीय सार्वजनिक नगरेको भन्दै बोर्डमा शेयर कारोबार रोक्का गर्न उजुरी दिएका थिए ।
खानिखोलाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनी ९ करोड ९० लाख ५७ हजार रुपैयाँ घाटामा रहेको छ । गत वर्षको सोही अवधिका कम्पनी १० करोड १२ लाख २६ हजार घाटामा थियो ।
खानिखोलाको शेयर मूल्य जेठ २० गते २५० रुपैयाँ कायम रहेको छ ।