Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निषेधाज्ञाले नेपाली अर्थतन्त्रमा दैनिक ८ अर्ब भन्दा बढीको नोक्सानी

निषेधाज्ञाले नेपाली अर्थतन्त्रमा दैनिक ८ अर्ब भन्दा बढीको नोक्सानी

शंकर पण्डित / काठमाडौं, २४ जेठ । कोरोनाले संक्रमणले आर्थिक गतिविधि सुस्त हुँदा मुलुकको अर्थतन्त्र पुनः नराम्ररी प्रभावित भएको छ। कोरोनाकै कारण गत आर्थिक वर्ष दुई दशकमै पहिलो पटक मुलुकका अर्थतन्त्र २.१२ प्रतिशत ऋणात्मक रह्यो । चालू आर्थिक वर्षमा पनि कोरोनाको दोस्रो लहर फैलिएपछि देशभरका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा भएको एक महिना बितिसकेको छ । अहिले देशका ७५ वटै जिल्लामा निषेधाज्ञा जारी छ ।

अत्यावश्यक बाहेकका सबै उद्योगधन्दा र व्यापार व्यवसाय प्रायः ठप्प छ । नेपाल उद्योग वणिज्य महासंघका अनुसार निषेधाज्ञाले देशभरका ७० प्रतिशत उद्योगमा असर परेको छ ।

नेपाली अर्थतन्त्रलाई गति दिने मुख्य चार क्षेत्र पर्यटन, पूर्वाधार निर्माण, रेमिट्यान्स र वैदेशिक व्यापारमा यसको गम्भीर असर देखिइसकेको छ । थोक तथा खुद्रा व्यापार, यातायात, होटल तथा रेष्टुरेन्टमा यसको सोझो असर परेको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले बताए । उनले अव नेपाली अर्थतन्त्रले लामो समय निषेधाज्ञा खेप्न नसक्ने भन्दै स्वास्थ्य मापदण्ड पालना गर्दै अर्थतन्त्रलाई विस्तारै चलायमान बनाउनुपर्ने बताए ।

वैशाख १६ देखिको निषेधाज्ञाले नेपाली अर्थतन्त्रमा प्रतिकुल प्रभाव परेको राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले पनि बताइन । गत वर्षको जस्तै क्षती भने नभएको उनको अनुमान छ । राष्ट्र बैंकले अब छिटै सर्वेक्षण गरेर बास्तविकता बाहिर ल्याउन पनि डेपुटी गभर्नर ढुंगानाले जानकारी दिएन । कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे राष्ट्र बैंकले यसअघि तीन वटा सर्वेक्षण गरिसकेको छ ।

राष्ट्र बैंकको सर्वेक्षण अनुसार गत असारमा पूर्ण रुपमा संचालनमा रहेका उद्योगहरु ४.१ प्रतितश थिए भने गत वैशाख पहिलो हप्तामा ८१.२ प्रतिशत पुगेको थियो । पछिल्लो सर्वेक्षणले अर्थतन्त्रमा निकै सुधार भइसकेको देखाउछ ।

ओडिसी हब र ग्लोबल सेन्टर फर रिसर्च एन्ड डेभलपमेन्टले गत वर्ष ‘कोरोना र नेपालको अर्थतन्त्र’ बारे गरेको एक अध्ययन प्रतिवेदन अनुसार गत वर्षको लकडाउनमा मुलुकलाई दैनिक औषत ८ देखि १० अर्ब रुपैयाँ नोक्सानी भएको थियो । यो पटक पनि अधिकांश जिल्लामा कडा निषेधाज्ञा लागू भएकाले अर्थतन्त्र सोही अनुपातको नोक्सानी ब्यहोरी रहेको उक्त अध्ययनमा संलग्न आर्थिक जानकार रोजन बज्राचार्यले बताए ।

गत वर्षको कोरोना संक्रमण र त्यसको नियन्त्रणका लागि गरिएको लकडाउनमा उद्योग,व्यवसाय पर्यटन, पूर्वाधार निर्माण, रोजगारी सबै क्षेत्र प्रभावित बनेकाले अर्थतन्त्रमा ४ खर्ब भन्दा बढीको नोक्सानी भएको जानकारहरुले बताउँदै आएका छन् ।अहिलेको दोस्रो लहरको संक्रमण र निषेधाज्ञाले मुलुकलाई फेरी कति क्षती पु¥याउने हो यकिन छैन् । त्यसकारण निषेधाज्ञा हटाएर अर्थतन्त्रलाई विस्तारै चलायमान बनाउनु पर्नेमा व्यवसायी र अर्थशास्त्रीको जोड छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x