बागमती प्रदेशको अनुमानित बजेट ५४ अर्ब, कोभिड प्रतिकार्य, पूर्वाधार र कृषि प्राथमिकतामा
हेटौंडा, २४ जेठ । बागमती प्रदेश सरकारले आगामी आव २०७८÷७९ का लागि करिब ५४ अर्बको बजेट ल्याउने तयारी गरेको छ । कोभिड रोकथाम तथा नियन्त्रण, भौतिक पूर्वाधार निर्माण र कृषि उत्पादनलाई प्राथमिकता दिएर उक्त आकारको बजेट आउने सम्भावना रहेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताएका हुन्
प्रदेश सरकारले आगामी आव २०७८÷७९ का लागि प्रस्तुत गर्ने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लामा कोभिड नियन्त्रणलाई केन्द्रमा राखिने मन्त्री ढुंगेललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । प्रदेश सरकारले यही जेठ २७ गतेभित्र वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने र कोभिडबाट पीडित परिवारलाई सरकारले उत्पादनतर्फ जोडेर आयआर्जनका लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको उनले बताए ।
उनका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न, अस्पतालको गुणस्तरीय वृद्धिका साथै एचडियु, भेन्टिलेटर र आइसियु कक्षको स्थापना गरी उपचार सेवालाई सहजीकरण गर्न सरकारले छुट्टै कार्यदल पनि गठन गर्नेछ ।
मन्त्री ढुंगेलले प्रदेश सरकारले अघिल्लो वर्ष जस्तै यस वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय गौरवका आयोजनाको निर्माणका साथै शिक्षाको गुणस्तर वृद्धि र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षातर्फ जोड दिइने बताए । आगामी आवका लागि प्रस्तुत हुने बजेटले प्रदेशमा कृषि उत्पादनका साथै पशुपालनतर्फ गाई, भैंसीपालनका अतिरिक्त, खसी, बोका, कुखुरा, बगुंरपालनलाई उच्च प्राथमिकता दिई शहरी क्षेत्रका उपभोक्तालाई दुग्ध पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई जोड दिइने उनको भनाइ छ ।