३ खर्ब २७ अर्बभन्दा बढीको धितोपत्र सूचीकृत

काठमाडौं, ५ असार । आर्थिक वर्षको दश महिनामा शेयर बजारमा ३ खर्ब २७ अर्बभन्दा बढीको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनका अनुसार उक्त अवधिमा २ खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, ४१ अर्ब ३३ करोड बराबरको साधारण शेयर, ४३ अर्ब २० करोड बराबरको बोनस शेयर, १४ अर्ब ५५ करोड बराबरको डिबेन्चर, ५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर र २ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब २७ अर्ब ४० करोड बराबरको थप धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६८.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.६ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा वैशाखसम्ममा सूचीकृत ५ अर्ब ७० करोड शेयरको चुक्ता मूल्य ५ खर्ब ६० अर्ब ८८ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १७ अर्ब ५४ करोड बराबरको डिबेन्चर, १३ अर्ब ३४ करोड बराबरको साधारण शेयर, ६ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५ करोड बराबरको हकप्रद शेयर गरी कुल ४० अर्ब ४३ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको छ ।