साताको अन्तिम करोबार दिन पनि घट्यो शेयर बजार, ७ अर्बको कारोबार
काठमाडौं, १० असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको छ । आज १६.९६ अंक घटेर २८४३.०० विन्दुमा रोकिएको हो ।
आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज घटेर ७ अर्ब ३ करोडको मात्र भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ३७ करोड ८३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १६६९ रुपैयाँ कायम भएको छ ।
आज सर्वाधिक शेयर मूल्य वृद्धि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर ७४५ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये २ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा होटल तथा पर्यटन १.१७ प्रतिशत र हाइड्रोपावर समूह १.९७ प्रतिशत रहेका छन् ।