हाइड्रोइलेक्ट्रिसिटी इभेष्टमेन्टले १० वर्षमा जलविुद्यत् क्षेत्रमा लगानी डेढ खर्ब पुर्याउने
काठमाडौं, ३० असार । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले आगामी दश वर्षमा जलविद्युत् क्षेत्रमा डेढ खर्ब ऋण लगानी गर्ने प्रक्षेपण गरेको छ । सोमवार दशौं वार्षिकोत्सवको अवसरमा कम्पनीले उक्त लक्ष्य सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार सोही अवधिसम्ममा वित्तीय स्रोत परिचालन भने १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक वर्षसम्ममा कम्पनीले जलविद्युत्का १२ वटा आयोजनामा ४ अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने ऋण प्रतिबद्धता रकम ६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
चालू आर्थिक वर्षमा ऋण तथा शेयर लगानी गरी १७ ओटा आयोजना (२ हजार ६५ मेगावाट क्षमता)मा संगग्नता रहेको यस कम्पनीले आउँदो तीन वर्षमा ४८ वटा आयोजनामा ऋण तथा शेयर लगानी गर्ने लक्ष्य लिएको छ भने १० वर्षपछि आव २०८७÷८८ सम्ममा ऋण तथा शेयर लगानीको संलग्नता ७५ वटा कम्पनीमा पुर्याउने प्रक्षेपण गरेको छ, जसको कुल विद्युत् उत्पादन क्षमता १० हजार मेगावाट हुनेछ ।
हालसम्म आयोजनाको कर्जा लगानी भएका दुईओटा आयोजनाको निर्माण सम्पन्न भएर व्यावसायिक उत्पादन शुरू भइसकेका छन् भने थप एउटा आयोजनाले समेत उत्पादन थालेको छन्, जसमा बागमती साना जलविद्युत् आयोजना, साृेलु खोला जलविद्युत् आयोजना र मिस्त्रीखोला जलविद्युत् आयोजना रहेका छन् ।
कम्पनी ऐन २०६३ बमोजिम २०६८ सालमा जलविद्युत् लगानी तथा विकास कम्पनीको रूपमा स्थापित यस कम्पनीले नेपाल सरकारबाट वित्तीय कम्पनीको मान्यता पाएको थियो । साथै २०६९ सालमा नेपाल राष्ट्र बैंकबाट ऋण लगानी गर्ने स्वीकृति पाएको थियो ।