वायुसेवा निगमले डेढ वर्षभित्र ८ नयाँ जहाज खरिद गर्ने
काठमाडौं, २१ चैत । नेपाल वायुसेवा निगमले डेढ वर्षभित्र ८ वटा नयाँ जहाज खरिद गर्ने जनाएको छ । निगमले सन् २०१५ मा अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा एअरबस खरिद गरेको थियो ।
आगामी असारभित्र दुईओटा वाइडबडी विमान ल्याएर लामो रुटमा उडान गर्ने तयारी गरिरहेको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए । निगमले नयाँ विमान थपिएपछि गन्तव्य विस्तार भएको र अन्तर्राष्ट्रिय बजार हिस्सा बढेर १० प्रतिशत पुगेको जनाएको छ । प्रबन्ध निर्देशक कंसाकारले ६ वर्षअघि ७ प्रतिशत रहेको बजार हिस्सा सन् २०१७ सम्म १० प्रतिशत पुगेको बताए ।
वाइडबडी आएपछि कम्तीमा वार्षिक पाँच अर्ब रुपैयाँको व्यापार बढ्ने निगमको अनुमान छ । विमान थपिएपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने निगमले जनाएको छ । वाइडबडी विमानका लागि ६० प्रतिशत विदेशी पाइलट ल्याउने तयारी गरिरहेको पनि निगमले जनाएको छ ।