काकरभिट्टा नाकाबाट ६० अर्ब ७० करोडको वैदेशिक व्यापार
झापा, १५ भदौ । झापाको पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा वैदेशिक व्यापार बढेको छ । काकरभिट्टा भन्सार कार्यालयका अनुसार गत आवमा सो नाकाबाट रू. ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने रू. १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा आयात रू. ९ अर्ब ६५ करोडले बढेको छ भने निर्यातमा रू. ४ अर्बको वृद्धि भएको छ ।
काकरभिट्टा नाकाबाट गत आवमा आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । भन्सार कार्यालयको तथ्यांकले गत आवमा सो नाकाबाट हुने वैदेशिक व्यापारमा रू. ३५ अर्ब अर्ब ८५ करोड व्यापार घाटा भएको देखाएको छ । यो नाकाबाट भारत, बंगलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले बताएका छन् ।