रसुवागढी नाकाबाट बढ्न थाल्यो सवारीसाधनको आयात
रसुवा, ७ असोज । उत्तरी नाका रसुवागढीबाट चीनमा निर्मित सवारीसाधन भित्रने क्रम बढ्दै गएको छ । चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म ट्रक डम्फर ३५, मिनी बस ६, माइक्रोबस १६, कङ्क्रिट मिक्सरलरी तीन, डेलिभरी भ्यान दुई, ठूलोक्रेन एक, ब्याट्रीबाट चल्ने विद्युतीय कार चार, ट्रेलर ५८, विद्युतीय मोटर १६, विद्युतीय स्कुटर चार, ट्रक छ र साइकल ३६ आयात भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।
गत आवमा रसुवागढी नाकाबाट साना ठूला गरी ५६८ सवारी साधन स्वदेश भित्रिएका थिए । यस वर्षमा सवारी साधनको आयात भारी मात्राले बढ्ने सङ्केत देखिएको हो । कोभिड रोगको सङ्क्रमण बढेसँगै चिनियाँ सवारी साधन रसुवागढीको मितेरी पुलसम्म चिनियाँ सवारी चालकले ल्याउने गरेको र भन्सार जाँचपास भएपछि नेपाली चालकले आफ्नो गन्तव्यतर्फ लाने गरेको कार्यालयका प्रवक्ता नरेन्द्र चौधरीले बताएका छन् ।
निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने उपकरणसमेत रसुवागढी नाकाबाट आयात भइरहेको कार्यालयले जनाएको छ । आयात हुने अन्य सामग्रीमा तयारी पोशाक, मोबाइल फोन, जुत्ता, चप्पल, कम्युटरका पार्टस, विद्युतीय पार्टपुर्जा, स्याउ, ओखर, लसुन, थर्मसलगायत छन् ।
यस्तै दशैँ नजिकिँदै व्यवसायीले स्याउ आयातमा समेत तिव्रता दिन थालेका छन् । यही असोज १ गतेदेखि आजसम्म २४ कन्टेनर अर्थात् २४० टनभन्दा बढी परिमाणको स्याउ आयात भइसकेको छ । व्यवसायी धर्म पौडेलका अनुसार नेपाली बजारको माग आपूर्ति सहज पार्न फलफूलको साथसाथै सवै प्रकारका सामग्री आयातको व्यवस्थापनमा व्यापारी व्यवसायी व्यस्त छन् ।
उत्पादक कम्पनीलाई समान माग गरेपश्चात् छिटो छरितो तवरले चिनियाँँ मुसा टान्सपोर्ट कम्पनीले रसुवागढीसम्म ढुवानी गर्ने गरेको बताइन्छ । चालु आवको साउनदेखि हालसम्म चीनबाट आयात भएका सामग्रीबाट नियमानुसारको शुल्कबापत कूल रु एक अर्ब ५९ लाख नौ हजार ४८ राजस्व असुली भएको छ । इन्टरनेट तथा विद्युत्को अवरोध भइरहँदा आयात भएका सामग्रीको जाँचपासका कठिन भएको छ ।