गैरआवासीय नेपाली संघको १०औं कार्यसमिति निर्वाचन तथा महाधिवेशन नोभेम्बर ३० भित्र हुने
काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघको ८०औं अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक अध्यक्ष कुमार पन्तको अध्यक्षतामा १६ अक्टोर २०२१ शनिवारका दिन भर्रचुल माध्मबाट सम्पन्न भएको छ । बैठकले संघको १०औं कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्वर ३० तारिख, २०२१, भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेको छ । सो निर्वाचनलाई तोकिएको समयमा व्यवस्थित रुपमा सम्पन्न गर्न पराराष्ट्र मन्त्रालय लगायत बिभिन्न सरोकारहरुसंग छलफल गरि महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष कुमार पन्तलाई जिम्मा दिने निर्णय समेत भएको छ ।
यसैगरी बैठकले गैरआवासीय नेपाली संघको विधानको धारा १३ को उपधार २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाको लागि थप गर्ने निर्णय गरेको छ । साथै बैठकले संघको महाधिवेशन प्रतिनिधिहरुको सम्बन्धमा आएका गुनासाहरुलाई सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसंगको परामर्शमा टिओआर सहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरुको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय गरेको छ ।
गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधिहरुका सम्बन्धमा आएका गुनासाहरुलाई सम्वोधन गर्न संघ सक्षम रहेको र संघको मुल्य, मान्यता र गरिमालाई उच्च राख्न छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गरि नेतृत्व हतान्तरण गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको जानकारी गराइएको छ ।