विदेश भ्रमणमा जाने नेपालीले अधिकतम परिवर्त्य विदेशी मुद्राको सटही सुविधा वर्षमा दुईपटक मात्र पाउने
काठमाडौं, १५ पुस । विदेश भ्रमणमा जाने नेपालीले राहदानीबावपत अधिकतम सीमामा अमेरिकी डलर वा अन्य विदेशी परिवर्त्य मुद्राको सटही सुविधा अब वर्षमा दुईपटक मात्र पाउनेछन् । नेपाल राष्ट्र बैंकले बुधवार एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर १ हजार ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिने । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्नेगरी मात्र प्रदान गर्न सकिने व्यवस्था नयाँ संशोधनमा गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले राहदानी वापतको सटही सुविधा प्रदान गर्दा यसैसाथ संलग्न अनुसूची ७१ अनुसारको निवेदन फाराम भराई लिनु पर्नेछ । साथै सटही सुविधा उपलब्ध गराउँदा स्रोतको स्वघोषणा लिनु पर्नेछ । राहदानीबापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहदानी बाहक स्वयं उपस्थित हुनुपर्नेछ ।