नेशनल असेम्बली अध्यक्ष दाहालको जेनेवामा बहुपक्षीय भेटघाट

काठमाडाैं, ५ कार्तिक । नेशनल असेम्बलीका अध्यक्ष नारायण प्रसाद दाहाल हाल जेनेवा, स्वीट्जरल्याण्डमा १५१औँ अन्तर्राष्ट्रिय संसदीय संघ (IPU) को अधिवेशनमा सहभागी भइरहेका छन्।
अधिवेशनको क्रममा अध्यक्ष दाहालले बेलायत, जन गणतान्त्रिक चीन, र श्रीलङ्काका संसदीय प्रतिनिधिमण्डलसँग अलग–अलग द्विपक्षीय बैठक गरेका छन्।
चीनका प्रतिनिधिमण्डलको नेतृत्व IPU को एशिया–प्यासिफिक समूहका अध्यक्ष शुएइजुन टियानले गरेका थिए भने बेलायती प्रतिनिधिमण्डलको नेतृत्व फेबियन ह्यामिल्टन र श्रीलङ्काली प्रतिनिधिमण्डलको नेतृत्व सुनील वाटागलाले गरेका थिए।
बैठकहरूमा पारस्परिक सम्बन्ध सुदृढ पार्ने, संसदीय मित्रता समूहमार्फत अनुभव आदान–प्रदान गर्ने, र अन्तर्राष्ट्रिय मंचमा सहयोग र सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ।
अध्यक्ष दाहालले प्रतिनिधिमण्डलहरूलाई नेपालमा हालैको ‘जेन जेड आन्दोलन’, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिस्थितिअनुसार मध्यवर्ती सरकारको गठन, र आगामी निर्वाचन घोषणा सम्बन्धी जानकारी दिएका छन्।
उनीहरूले निर्वाचन समयमै सम्पन्न गराइ लोकतन्त्रलाई थप सुदृढ बनाउने नेपाल सरकारको प्रतिबद्धता दोहोर्याएका छन्। साथै, मित्र राष्ट्रहरूलाई हालैको आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग र स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सुनिश्चित गर्न समर्थनको आग्रह गरेका छन्।
अध्यक्ष दाहालले जलवायु परिवर्तनले नेपाली जनतामाथि पार्ने प्रत्यक्ष प्रभावलाई उजागर गर्दै विकासशील राष्ट्रहरूलाई जलवायु संकटको चुनौती सामना गर्न विश्व समुदायले व्यापक सहयोग प्रदान गर्नुपर्नेमा जोड दिएका छन्।