महानिर्देशक अधिकारीसँग दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

काठमाडाैं, ५ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएएएन) का महानिर्देशक प्रदीप अधिकारीसँग दुर्व्यवहार गरेको आरोपमा तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरूमा काभ्रेका कोकिल शाही, रामेछापका सिर्जन अधिकारी र सर्लाहीका हेम तामाङ रहेका छन्।
ललितपुर जिल्ला प्रहरीका अनुसार हेम तामाङलाई मंगलबार साँझ एकान्तकुनाबाट नियन्त्रणमा लिइएको हो। उनीसँग सम्बन्धित बा ९० प १६१३ नम्बरको स्कुटर पनि प्रहरीले बरामद गरेको छ।
त्यस्तै, सिर्जन अधिकारी र कोकिल शाहीलाई काठमाडौं उपत्यकाको अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले सातदोबाटो क्षेत्रबाट पक्राउ गरेको प्रहरीको भनाइ छ।
ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार, असोज ३ गते साँझ सातदोबाटो क्षेत्रमा पैदल हिँडिरहेका महानिर्देशक अधिकारीमाथि स्कुटरमा आएका युवाहरूले दुर्व्यवहार गरेका थिए।
घटनापछि ती युवाहरू फरार भएका थिए। प्रहरीको अनुसन्धानपछि आसपासका सिसीटिभी फुटेजको सहायताले उनीहरूको पहिचान गरिएको र संयुक्त टोली खटाएर पक्राउ गरिएको बोगटीले बताए।
“सिसीटिभी फुटेजको आधारमा उनीहरूको हुलिया पत्ता लगाइयो र अपराध अनुसन्धान कार्यालयसँग समन्वय गरी संयुक्त टोलीले पक्राउ गर्यो,” एसएसपी बोगटीले भने।
हाल तीनै जना ललितपुर प्रहरीको हिरासतमा रहेका छन् र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।