प्रधानमन्त्रीको घोषणा: ‘नेपाल संवत अब बैंक नोटमा पनि उल्लेख गरिनेछ’

काठमाडाैं, ५ कार्तिक । प्रधानमन्त्री सुषिला कार्कीले नेपाल संवतलाई राष्ट्रिय नोटमा समावेश गर्ने व्यवस्था मिलाइने घोषणा गरेकी छन्।
बुधबार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले नेपाल राष्ट्र बैंकसँग परामर्श गरी नोटमा नेपाल संवत उल्लेख गर्ने प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाइन्।
उनले भनिन्, “नेपाल संवत काठमाडौं र भक्तपुरबाट सुरु भए पनि यो सम्पूर्ण राष्ट्रको मौलिक पात्रो हो। यसलाई राष्ट्रिय प्रतीकका रूपमा अंगिकार गर्नुपर्छ।”
प्रधानमन्त्री कार्कीले नेपाल संवतका प्रवर्तक शंखधर साख्वालाई नाफा कमाउने व्यापारी नभई जनकल्याणमा समर्पित परोपकारी व्यापारीका रूपमा चित्रित गरिन्।
उनका अनुसार, “शंखधर साख्वा एक दृष्टिवान् समाज सुधारक र मानवतावादी थिए, जसले विपन्न जनतालाई आर्थिक मुक्तिको बाटो देखाए।”
इतिहासको स्मरण गर्दै उनले भनिन्, “करिब १,१४६ वर्षअघि राजा राघव देवको शासनकालमा शंखधर साख्वाले ऋणमा परेका नागरिकको ऋण तिरेर तिनीहरूलाई गरिबीबाट मुक्त गराए, र त्यही घटनाबाट नेपाल संवतको सुरुवात भएको हो।”
उनका अनुसार, नेपाल संवत कुनै राजकीय शक्ति वा युद्ध जितेर होइन, एक व्यापारीको उदारता र त्यागबाट जन्मिएको पात्रो भएकाले यसको सांस्कृतिक र नैतिक मूल्य विशिष्ट छ।
प्रधानमन्त्री कार्कीले नेपाल संवतलाई सरकारी कागजातहरूमा उल्लेख गर्ने र यसको औपचारिक प्रयोग विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।
उनले भनिन्, “नेपाल संवत हाम्रो मौलिक पहिचान हो। यसको संरक्षण र प्रचार सरकारको जिम्मेवारी हो, र हामी त्यस दिशामा ठोस कदम चाल्दैछौं।”