जेनजी आन्दोलनले नेपाल पर्यटनलाई ठूला झट्का

काठमाडाैं, ५ कार्तिक । काठमाडौंबाट सुरु भएको जेनजी आन्दोलनले नेपालका हिमालदेखि तराईसम्मको पर्यटन बजारलाई एकैचोटि प्रभावित बनाएको छ। हिमाली ट्रेकिङ मार्गका पर्यटक चहलपहलदेखि काठमाडौंको ऐतिहासिक दरबार क्षेत्रसम्मको भर्खरै सुरु भएको पर्यटन सिजन आन्दोलनका कारण मौन बनेको छ।
कोभिडको मार, आर्थिक सुस्ती र राजनीतिक अस्थिरता पछाडि उबिरहेको नेपाली पर्यटन उद्योगलाई गत भदौ २३–२४ को आन्दोलनले अर्को चोट पुगेको छ। यस सिजनमा होटल कोठा करिब ८० प्रतिशत भरिने अपेक्षा थियो, तर राजधानी काठमाडौंका सडक सामान्य देखिए पनि पर्यटन गतिविधि धरमराइरहेको छ।
एयरपोर्टमा विदेशी यात्रुको भीड कम छ भने ट्राभल एजेन्सीका फोनहरूमा नयाँ बुकिङको घण्टी पनि रोकिएको छ। दशैं–तिहारको लामो बिदा र सेप्टेम्बर–नोभेम्बरको ‘पिक सिजन’को तयारीमा रहेका व्यवसायीहरूले आन्दोलनको धुवाँ अझै महसुस गरिरहेका छन्।
दुई दिनको हिंसात्मक आन्दोलनले सडक मात्र होइन, नेपाल पर्यटनको प्रतिष्ठा समेत प्रभावित गरेको छ। पाँचतारे होटल हिल्टनमा आगजनी भएको छ भने अन्य धेरै होटलमा पनि व्यापक क्षति पुगेको छ। आन्दोलनपछि होटल अकुपेन्सी २५–३० प्रतिशतसम्म घटेको खबर आएको छ। केही विदेशी एयरलाइन्सको उडान रद्द भएका थिए भने केही देशको भिजिट भिसा रोकिएको थियो।
होटल संघ नेपाल (हान) का अनुसार करिब २५ अर्ब रुपैयाँ बराबरको होटल लगानीमा प्रत्यक्ष असर परेको छ। सबैभन्दा ठूलो धक्का राजधानीको हिल्टनमा पुगेको छ, जहाँ करिब ८ अर्ब रुपैयाँको लगानी छ।
सिजनमै विदेशी पर्यटकले भ्रमण स्थगित गरेका छन्। होटल बुकिङ र नयाँ प्याकेज खरिदमा चासो कम देखिएको छ। दशैँको बिदा पनि धेरै पर्यटकले पूर्णरूपमा उपयोग गर्न सकेनन्। अहिले सामान्य अवस्था भए पनि पर्यटन व्यवसायीहरूले पुरानो लयमा फर्कन समय लाग्ने अनुमान गरेका छन्।
कोभिडपछिको पुनरुत्थानको आशामा लगानी गरेका होटल व्यवसायी अहिले ‘सिजनमै ठप्प’ अवस्थामा पुगेका छन्। सामान्यतया अक्टोबरमा होटल अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुग्ने भए पनि अहिले ३०–४० प्रतिशतमा झरेको छ।
व्यवसायीहरूले तत्काल पर्यटन प्रवर्द्धन रणनीति र राहत प्याकेज आवश्यक भएको बताउँछन्। पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश फैलाउने काममा गति दिनु पर्ने र स्थानीय निकाय र निजी क्षेत्र पनि सक्रिय हुनुपर्ने सुझाव दिएका छन्।
छोटो अवधिका प्याकेज, छुट योजना, ‘नेपाल सेफ टु ट्राभल’ अभियान र एयरलाइनसँग सहकार्य गरी भाडामा सहजीकरण जस्ता उपाय तत्काल प्रभावकारी हुने व्यवसायीहरूको भनाइ छ।
नेपाली पर्यटनले कोभिड, आर्थिक सुस्ती र राजनीतिक अस्थिरतासँग जुध्दै आएको छ। अहिले जेनजी आन्दोलनले थपिएको चौथो आघातलाई अवसरमा परिणत गर्न सकिए मात्र आगामी महिनामा विदेशी र स्वदेशी पर्यटकको चहलपहल पुन: सुरु हुने व्यवसायीहरूले बताए।