शेयर बजारमा ३ दिन लगातार वृद्धि
काठमाडौं, २० पुस । यो साता शेयर बजारमा लगातार वृद्धि देखिएको छ । शेयर बजारमा हरियाली देखिएपछि लगातारको वृद्धिमा लगानीकर्तामा रौनक छाएको छ ।
आइतबार र सोमबार २ दिनमा ९२.४४ अंकको सुधार देखिएको बजार मंगलबार ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९.९५ बिन्दुमा पुगेको छ ।
यो अघिल्लो दिनको तुलनामा २ दशमलब ४१ प्रतिशतले वृद्धि भई २ हजार ६ सय ७९ दशमलब ९५ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
आइतबार ६०.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२.०३ अंकले बढेर २६१६.९४ मा पुगेको थियो ।
गएको साता ४ अंकले मात्रै बढेको बजारमा यो साताको तीन दिनको कारोबारले राम्रो संकेत गरेको छ । तीन दिनमा गरेर बजारमा १५५.४५ अंकको सुधार देखिएको छ ।
मंगलबार कूल २ सय ३४ कम्पनीको ५६ हजार ३ सय ७८ कारोबार हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २८ रुपैयाँ बराबरका ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर किनबेच भए ।
शेयर बजारमा १ सय ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनि पर्ख र हेरको स्थितीमा देखिन्छन् ।