३८ प्रतिशतले घट्यो वैदेशिक सहायता प्रतिबद्धता
काठमाडौं, २१ पुस । नेपालमा पछिल्लो समय वैदेशिक सहायता प्रतिबद्धता घटेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो चार महिनामा वैदेशिक सहायता प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको समीक्षा अवधिमा वैदेशिक सहायता रकम रू. ९० अर्ब ५५ करोड रहेकोमा चालू आर्थिक वर्षको चार महिनामा ५५ अर्ब ९४ करोड रहेको छ । यसमध्ये अनुदान सहायता रू. ५ अर्ब ८१ करोड र ऋण सहायता रू. ५० अर्ब १३ करोड रहेको छ ।
वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमशः १०.४ प्रतिशत र ८९.६ प्रतिशत रहेको छ । कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये एशियाली विकास बैंक, विश्व बैंक र आईएफएडी बाट क्रमशः ३६.३ प्रतिशत, ३३.६ प्रतिशत र २०.८ प्रतिशत प्राप्त भएको छ । कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचार एवम् सोसँग सम्बन्धित पूर्वाधार निर्माणको र सबैभन्दा कम खानेपानी तथा सरसफाई क्षेत्रमा प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।