गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जयन्तीदेखि नियमित उडान
काठमाडौं, १६ माघ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । विमानस्थलबाट आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी छ भने आगामी बुद्ध जयन्तीदेखि नियमित उडान शुरु गर्ने योजना छ ।
तर विमानस्थल कसलाई सञ्चालनको जिम्मा दिने भन्ने निर्णय भएको छैन । शनिवार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात् पर्यटन मन्त्री प्रेम आलेले मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुने जानकारी दिए ।
हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिबे्रशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिएका छन् ।