बजेट फेरि घटाए अर्थमन्त्री शर्माले
काठमाडौं, २७ माघ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट दोस्रो पटक कम देखाएका छन् ।
अर्थमन्त्री शर्माले बिहिबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै पूर्ण आकारमा बजेट खर्च नहुने देखाएका हुन् ।
उनले चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब रुपैयाँ मात्र खर्च हुने जानकारी दिए । जुन बिनियोजित बजेटको ९४.७ प्रतिशत मात्रै हो ।
गत भदौमा प्रतिस्थापन विधेयक जारी गर्दै अर्थमन्त्री शर्माले बजेटको आकार १६ खर्ब ३२ अर्बको रुपैयाँ तय गरेका थिए।
चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षा मार्फत चालु आर्थिक वर्षको बजेट फेरि ८६ अर्ब रुपैयाँले घटाइएको हो । अब चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ ।
संबैधानिक व्यवस्था अनुसार चालु आर्थिक वर्षको लागि आएको बजेट प्रतिस्थापन विधेयक मार्फत घटाएका अर्थमन्त्री शर्माले मध्यावधी समीक्षा मार्फत दोस्रो पटक घटाइदिएका हुन् ।
तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि गत जेठ १५ गते १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।
वर्तमान अर्थमन्त्री शर्माले गत भदौ २५ गते प्रतिस्थापन विधेयक मार्फत पौडेलले ल्याएको बजेटमा १५ अर्ब रुपैयाँले घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका थिए ।
अर्थमन्त्री शर्माका अनुसार चालु आवमा चालू खर्च १० खर्ब ३५ अर्ब रुपैयाँ, पुँजीगत खर्च र ३ खर्ब ९० रुपैयाँ र वित्तीय व्यवस्थापनमा १ खर्ब ७० अर्ब रुपैयाँ खर्च हुनेछ ।
उनले पूर्व तयारी नभइ बजेट ल्याउँदा पुँजीगत खर्च हुन नसकेको समेत दाबी गरे । उनले यसका लागि बजेट निर्माणको तरिका नै बदल्नुपर्ने बताए ।
अर्थमन्त्रीका रुपमा प्रतिस्थापन विधेयक जारी गरेपछि शर्माले चालु आवको पहिलो ३ महिना पुँजीगत खर्च १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने घोषणा गरेका थिए । तर उनले भनेअनुसार हालसम्म पुँजीगत खर्च बढ्न सकेको मात्रै छैन, उनले लिएको लक्ष्य नजिक पनि खर्च हुन सकेको छैन ।
उनले पुँजीगत खर्च बढाउन आगामी वर्षमा पहिले नै मापदण्ड बनाउनुपर्ने समेत बताए ।
‘कस्तो आयोजना प्रदेशले बनाउने हो र कस्ता संघ र स्थानीय तहले बनाउने हो त्यसमा स्पष्ट मापदण्ड आवश्यक छ,’ उनले भने ।
बजेटको समीक्षा गर्दै अर्थमन्त्री शर्माले हाल नेपालमा क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चूनौती भएको जानकारी दिए । उनले पछिल्लो समय क्रिप्टोकरेन्सी तथा हाइपर फन्डको कारोबारमार्फत नयाँ तरिकाबाट क्यापिटल फ्लाइट भइरहेको भन्दै चिन्तीत भए ।