इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँड
इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले बाँडफाँड गरेको हो ।
कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता शेयरको लागि आवेदन परेको थियो । कुल आवेदक मध्ये २ हजार ५५२ जनाको आवेदन रद्ध भएका हुन् ।
२३ लाख २८ हजार २०६ जनाको योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता शेयर माग गरेकोमा कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयरको ५१.१५ गुणा बढी हो । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले न्युनतम १० कित्ताको दरले ५ लाख १६ हजार ७०० कित्ता शेयर वितरण गरेको हो । आवेदकलाई गोलाप्रथाद्वारा न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ ।
८ कित्ता शेयर भने पुनः सोही मध्येबाट २० कित्ता भन्दा बढी आवेदन दिने ८ जनालाई एक एक कित्ताको दरले बाँडफाँड गरिएको हो । त्यस अनुसार अधिकतम शेयर पाउने आवेदकले ११ कित्ता सम्म शेयर पाएका छन् ।
कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्ने भएको छ ।