भूकम्पका तीन वर्ष, पुनर्निर्माणको गति भने सुस्त
काठमाडौं, १२ वैशाख । विनाशकारी वैशाख १२, २०७२ को भूकम्पको आज तीन वर्ष पूरा भएको छ । भूकम्पपछिको पुनर्निर्माणले पछिल्लो वर्षमा भने केही गति लिएको भएपनि सन्तोषजनक प्रगति हासिल हुन सकेको छैन । अहिलेसम्म १५ प्रतिशतमात्र निजी घरहरु निर्माण सम्पन्न भएका छन् । भूकम्पबाट ३१ जिल्लामा ७ लाख ६७ हजार सात सय पाँच घरहरु क्षति भएकोमा अहिलेसम्म एक लाख २० हजारको हाराहारीमा घरहरु निर्माण भएको छ । त्यस्तै, चार लाख ५० हजार घरहरु निर्माणको क्रममा रहेका छन् ।
त्यस्तै, ७५३ सांस्कृतिक सम्पदा क्षति भएकोमा १०० ओटा निर्माण सम्पन्न भइसकेको र ३३० निर्माणको क्रममा रहेको पुनर्निमाण प्राधिकरणले जनाएको छ । विद्यालयतर्फ सात हजार पाँच सय ५३ विद्यालयहरुमध्ये ३ हजार ६ सय १७ विद्यालय पुनर्निर्माण सम्पन्न भएको र १ हजार ८ सय निर्माणको क्रममा रहेका छन् । पुनर्निर्माण प्राधिकरणका सीईओ युवराज भुसालले बाँकी विद्यालयहरु इस वर्ष निर्माण शुरु भइसक्ने बताए । त्यस्तै, एक हजार एक सय ९७ स्वास्थ्यचौकी र अस्पतालहरु क्षति भएकोमा प्रिफ्याब भवन सहित पाँच सय ८६ भवनहरु निर्माण सम्पन्न भैसकेका छन् । ९४ पुनर्निर्माणको क्रममा र सोही संख्यामा अस्पतालहरु रेट्रोफिटिङ भइरहेका छन् ।
त्यस्तै, तीन सय ७९ सरकारी भवनहरु क्षति भएकोमा ६ ओटा निर्माण सम्पन्न भएका छन् भने एक सय २० पुनःनिर्माणको क्रममा छन् ।
प्राधिकरणका सीईओ भुसालले व्यक्तिगत घर पुनर्निर्माण गर्नेले असार मसान्तसम्म दोस्रो किस्ता र आगामी पुस मसान्तसम्म अन्तिम किस्ता लिइसक्नुपर्ने बताए । निजी घर पुनर्निर्माणमा ६० प्रतिशत प्रगति भएको छ । आगामी हिउँद (पुस मसान्तसम्म) ९० प्रतिशत घरहरु निर्माण सम्पन्न हुने प्राधिकरणको अपेक्षा छ । प्राधिकरणले आगामी आर्थिक वर्षमा पुनर्निर्माणका अधिकांश काम सम्पन्न गर्ने गरी पुनर्निर्माणका क्षेत्रमा दुई खर्ब ६० अर्ब रुपैँया बजेट माग गरेको छ । यो आर्थिक वर्षमा एक खर्ब २० अर्ब विनियोजन गरिएकोमा ८० अर्ब रुपैँया खर्च हुने अनुमान गरिएको छ ।