कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार नेपाली श्रमिक लाभान्वित हुने
काठमाडौं, १० चैत । इपीएसमार्फत दक्षिण कोरिया गइ श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि त्यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो ।
दक्षिण कोरिया सरकारले श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । निर्णयअनुसार इपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९ प्रवेशाज्ञामा श्रम गरी प्रवेशाज्ञा सकिन लागेकाले एक वर्ष थप प्रवेशाज्ञा पाउने छन् ।
इपीएस नियमानुसार पहिलो कार्यकालमा तीन वर्ष प्रवेशाज्ञा पाउँछन् । तीन वर्षे अवधि समाप्त भएपश्चात् कम्पनी र श्रमिकको सहमतिमा थप एक वर्ष १० महिनासहित चार वर्ष १० महिना बस्न पाउँछन् । पहिलो कार्यकाल सकेर अनिवार्य आफ्नो देश फर्किनुपर्छ ।