जनतालाई सास्ती नहुने ढंगले नोटबन्दी हुनुपर्छः जोशी
काठमाडौं, १३ चैत्र । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले आममानिसलाई सास्ती नहुने ढंगले ५ सय र १ हजारका नोट नोटबन्दी गर्ने हो भने त्यसमा आफूले पनि समर्थन जनाउने बताएका छन् ।
उनले नोटबन्दी भ्रष्टाचार न्यूनीकरण र अनौपचारिक अर्थतन्त्रलाई व्यवस्थित गर्ने एउटा माध्यम हो भन्दै तर त्यसरी गर्दा खल्ती वा घरमा ५–१० हजार वा १ लाखसम्म राख्नेहरुलाई सास्ती नहुने गरेर गर्नुपर्ने बताए ।
उनले भने, ‘इण्डियामा जसरी रातारात नोटबन्दी गर्दा मानिसहरु बैंकमा लाइन लाग्ने, विरोध, धर्ना, जुलुस हुनसक्छ । जसले नियमअनुसार कमाएर राखेको पैसा छ, त्यो पैसा सहजरुपमा बचत गर्न समय दिएर नोटबन्दी गर्ने कुरा राम्रै हो । त्यो हो भने मेरो पनि समर्थन हुन्छ । सँगै अर्को कुरा के भने भ्रष्टाचार गर्नेले नोट नै दिन्छ भन्ने पनि हुँदैन् । अरु कुरा दिएर पनि गर्नसक्छ । जग्गा दिनसक्छ । गहना दिनसक्छ । विदेशी बैंकमा पैसा जम्मा गरिदिनसक्छ । यस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।’
जोशीले इण्डियामा विपक्षीले धेरै पैसा लुकाएर राखेको भनेर भारतीय जनता पार्टीको सरकारले नोटबन्दी गरेको बताउँदै नेपालमा राजनीतिक उद्देश्यभन्दा पनि जसले अवैधरुपमा कारोबार गरिरहेको छ वा अवैधरुपमा कमाएर राखेको छ, उनीहरुलाई लक्षित गरेर, उनीहरुले बैंकमा आफ्नो वा अरुको नाममा बचत गर्न नमिल्ने गरी नोटबन्दी गर्न सक्नुपर्ने बताए ।
यद्यपि नोटबन्दी गर्दा पनि नीतिगत भ्रष्टाचार गर्ने वा दुई नम्बरी कारोबार गर्नेहरुले कुनै न कुनैरुपमा पैसा लुकाउने उपाय खोज्ने उनले बताए । जोशीले अहिलेको समयमा पनि मालपोत जस्ता सरकारी कार्यालयले नोटको कारोबार नै प्रशय दिएको बताउँदै नोटको कारोबारलाई व्यवस्थित र पारदर्शी गर्ने कुरामा निजी क्षेत्रले सहयोग गरे पनि सरकारी निकायले सहयोग नगर्ने बताए ।