जोन्टा क्लब अफ काठमाडौंलाई राष्ट्रपति भण्डारीको सम्बोधन
चैत १६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेशनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौंको एरिया २ बैठकलाई सम्बोधन गरेकी छिन् । प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तीकरणका लागि गरेका विभिन्न कार्यहरूबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । बैठकमा राष्ट्रपति भण्डारीले महिला र बालबालिकाका लागि देशको प्राथमिकताका बारेमा आफ्नो बहुमूल्य सुझाव प्रदान गरिन् ।
जोन्टा क्लबको एरिया २ (नेपाल र बंगलादेश) को डिस्ट्रिक्ट २५ को बैठक ‘शिक्षा, सशक्तीकरण र प्रबुद्धता’ थिम सहित काठमाडौंमा सम्पन्न भएको छ । बैठकको उद्घाटन गभर्नर जेडटीएन एरिक इलाभियाले गरेका थिए । लेफ्टिनेन्ट गभर्नर जेडटीएन सिर्जना राणाले डिस्ट्रिक्ट २५ मा सहभागीहरूलाई जोन्टा सदस्यता संख्याको बारेमा जानकारी दिँदै क्लबका कार्यक्रमहरूमा सदस्यहरूलाई संलग्न गराउने र उत्प्रेरित राख्ने तरिकाहरूबारे प्रकाश पारे । बैठकमा बंगलादेश, भारत, इटाली र नेपालका ७९ सदस्य सहभागी थिए । बंगलादेशका एरिया डाइरेक्टर जेडटीएन मोमताज चौधरी र अरु ८ वटा क्लबका प्रेजिडेन्टहरुले पनि बंगलादेश र नेपालमा महिला सशक्तीकरणका लागि विभिन्न क्लबहरूले गर्दै आएका परियोजनाहरूबारे संयुक्त रुपमा बताए ।