बैदेशिक लगानीलाई सहजीकरण गर्ने नीतिलाई कार्यान्वयन गर्न प्रतिवद्ध छु: अर्थमन्त्री
काठमाडौं, २४ चैत्र । अर्थमन्त्री जनार्दन शर्माले बैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने नीतिलाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
अमेरिकाबाट आएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन अर्थमन्त्री नै सक्रिय रहेको भन्ने खालका समाचारमा सत्यता नरहेको भन्दै उनले बैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने नीति सरकारको रहेको बताएका हुन् ।
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पृथ्बी शाहको बैंक खाता फुकुवा गर्नु भनि दिएको निर्देशन कार्यान्वयन गर्नु भनेर राष्ट्र बैंकलाई अनुरोध गरी पठाएको हो’, मन्त्री शर्माले भनेका छन् ।
बिदेशबाट आएको लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको पनि उनले प्रष्ट पारेका छन् । बिहीवार जारी प्रेस विज्ञप्तिमार्फत उनले बैदेशिक लगानीलाई सहजीकरण गरी थप लगानी भित्र्याउने बातावरण बनाउन आग्रह पनि गरेका छन् ।
अमेरिकाबाट ल्याएको १२ लाख डलरको स्रोत खोज्दै भएको अनुसन्धानमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ माघ १७ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै शाहले कसूर अपराध गरेको स्थापित हुने आधार नदेखिई बैंक खाताहरु रोक्का राख्नु नपर्ने देखिएको बताएको थियो ।
विभागले गत माघ ११ गतो शाहको नाममा रहेका बैंक खाताहरु फुकुवा गर्ने निर्णय गर्दै राष्ट्र बैंक र अन्य बैंकलाई पनि पत्राचार गरेको थियो । तर, विभागको पत्राचारअनुसार बैंक खाताहरु फुकुवा नभएपछि शाहले चैत ११ गते अर्थमन्त्री शर्मा समक्ष निवेदन दिएका थिए ।
शाहले निवेदन र सम्पत्ति शुदीकरण अनुसन्धान विभागको विभिन्न पत्रसमेत पेश गरेको आधारमा उनर्ला थप दुःख नदिई बैंक खाता फुकुवा गर्नुपर्ने र बैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्नुपर्ने निष्कर्षसहित आफुले राष्ट्र बैंकलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार खाता फुकुवा गरिदिन अनुरोध गरेको पनि अर्थमन्त्रीले बताएका छन् ।
अर्थमन्त्रीको प्रेस नोटमार्फत शाहले समेत प्रतिक्रिया दिएका छन् । अनुसन्धानमा तानिएका शाहले भने न्यायका लागि अनुरोध गर्दा मन्त्रीलाई अप्ठ्यारो पार्ने गरी घटनामा जोडिएकोमा दुःख व्यक्त गरेका छन् ।