अमेरिकामा सर्वाधिक विक्री हुने कमोडिटी बन्यो गोबर
काठमाडौं, २४ चैत्र । अमेरिकाका केही राज्यमा भने गाइवस्तुको गोबरको माग धान्नै नसक्ने अवस्था आएको छ । ती राज्यमा यस अघि गोबर हटाउन पैसा नै खर्च गर्नु पर्ने अवस्था थियो । तर अहिले केही पशुपालक र दूग्ध कृषकहरुले गोबर मल विक्रीलाई साइड विजनेश बनाएका छन् । यसबाटै मनग्गे कमाइ पनि रहेका छन् ।
‘अहिले वस्तुभाउको गोबर सबैभन्दा धेरै बिक्ने कमोडिटी भएको छ,’ नेब्रस्कास्थित कृषि परामर्शदाता एलन क्याम्सनिडरले भनेका छन् । यस्ता मल किन्न क्रेताहरुको वेटिङ लिष्ट नै बनेको उनले बताएका छन् ।
अहिले विश्वभर माग अनुरुप रसायनिक मलखादको आपूर्ति भइरहेको छैन । उपलब्ध मलखादको भाउ पनि आकाशिएको छ ।
यस्तोमा कृषकहरु रसायनिक मलखादको विकल्प खोज्न तिर लागेका छन् । कयौं भने परम्परागत समाधान अर्थात गाइ वस्तुको गोबरतिर लागेका छन् ।
हालैका दिनमा गाई, भैसी, सुँगुर, घोडा लगायत वस्तुभाउको गोबर मात्रै होइन मानव मलको माग पनि आकाशिएको छ । बसन्त ऋतुमा बाली नाली लगाउने बेला आउँदै गर्दा रसायनिक मलखादको विकल्पका रुपमा यसको माग बढेको हो ।
विश्वभर कृषि क्षेत्रमा मलखादको चरम अभावबीच वस्तुभाउको मलको माग असामान्य रुपमा बढेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि मलखादको आपूर्तिमा अवरोध उत्पन्न भएको छ । फलतः विगत महीनामा मलखादको भाउमा नाटकीय वृद्धि भएको छ । यसका कारण अमेरिकी कृषकहरु प्रभावित भएका छन् ।
अधिकांश कृषकहरु मकै खेती घटाएर कम मलखाद आवश्यक पर्ने भट्मासजस्ता बाली लगाउनु पर्ने अवस्थामा पुगेका छन् ।
रसायनिक मलखादको अभावमा यस वर्ष अमेरिकामा कृषि उत्पादन घट्ने अुनमान गरिएको छ । वस्तु भाउको मलले बालीनालीको लागि आवश्यक पोषण अभाव कम गर्ने भएपनि अमेरिका भर विषादीलाई विस्थापित गर्ने गरी गाइवस्तुको मल पर्याप्त आपूर्ति छैन । यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन ढुवानी महँगो पर्छ ।
गाइवस्तुको मलले खेतबारी नजिक रहेका खोलानाला, तलाउ र जमिन मुनिको पानी विषाक्त बनाउने गम्भीर समस्या भएको इवा विश्वविद्यालयमा अनुसन्धान इञ्जिनियर र पानी आपूर्ति विज्ञ क्रिस जोनेस भन्छन् ।
गाइवस्तुको मल प्रयोगसम्बनधी सरकारी नियम र मापदन्ड पूरा गर्न गाह्रो भएको पशुपालकहरु बताउँछन् । तर फाइदा बेफाइदा जे जस्तो भएपनि माग भने चुलिएको छ ।
नाइट्रोजन लगायत रसायनिक मलखाद उत्पादन गर्न प्रशस्त ऊर्जा चाहिन्छ । प्राकृतिक ग्यास र कोइलाको मूल्य आकाशिएपछि मलखाद उत्पादकहरुले उत्पादन कटौती गरेका थिए । यसका कारण पहिला देखि नै बढिरहेको माग पूर्ति हुन सकेन ।
विषम मौसम र कोभिडको महामारीले विश्वको आपूर्ति झनै खराब बनाइदियो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरुले लगाएको प्रतिबन्ध र ढुवानी समस्याका कारण रुस र बेलारुसबाट हुने मलखाद निर्यात घटेको छ ।
गत वर्ष विश्वभर भएका निर्यातमध्ये ४० प्रतिशत पोटास रुस र बेलारुसबाट भएको थियो । विश्वभर महँगी कीर्तिमानी स्तरमा उक्लिएको समयमा पछिल्लो समय उत्पन्न मलखाद अभावले बाली उत्पादन खुम्चिने खतरा बढेको छ ।
वास्तवमा भन्ने हो भने पशुपालन गर्ने कृषकहरुलाई मल तह लाउन पैसा दिएर मान्छे लगाउनु पथ्र्यो । मल नबिकेर सित्तमै लैजाउन भन्दा पनि कमैले मात्र लाने अवस्था परिवर्तन भएको छ ।