गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकमा कालो ब्यानर

काठमाडौं, ४ वैशाख । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंक कर्मचारी संघले राष्ट्र बैंकमै कालो ब्यानर झुण्ड्याएका छन् ।
संघका सचिव कृष्ण प्रसाद खरालले सरकारी निर्णयको विरोधमा कालो ब्यानर झुण्ड्याएर कोणसभा आयोजना गरेको बताए ।
राष्ट्र बैंकका केन्द्रीय कार्यालयलगायत उपत्यकाबाहिरका सबै कार्यालयमा एकैसाथ कालो ब्यानर टाँगेका हुन् ।
ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नांगो हस्तक्षेप बन्द गर’, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिउको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर’ र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’जस्ता नारा उल्लेख गरिएका छन् ।
ब्यानर झुण्ड्याउनुअघि राष्ट्र बैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै संघका अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले राज्य सञ्चालकहरु वित्तीय पणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने र राष्ट्र बैंकका नेतृत्वमाथि आक्रमण गर्ने गरेको बताए ।
यसअघि पनि यस्ता हस्तक्षेप र आक्रमण भएकोले उनले यस्ता आक्रमणको राष्ट्र बैंक कर्मचारी संघले सदैव विरोधमा उत्रिने गरेको जानकारी दिए ।
संघका अनुसार यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारले बर्खास्तगी र निलम्बन गर्दा संघले विरोध गरेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकर प्रसाद भट्टराईलगायत संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, बालुवाटार र थापाथली समितिका पदाधिकारी, सदस्य र साधारणसदस्यलगायत उपस्थित थिए ।
