भोलीदेखि `कन्स्ट्रक्सन होलिडे´ अत्यावश्यक बाहेकका निर्माण कार्य ठप्प
काठमाडौं, १० वैशाख । निर्माण व्यवसायीहरुले भोलीदेखि अत्यावश्यक बाहेकका अन्य निर्माणको काम ठप्प पार्ने भएका छन् । भौतिक संरचना निर्माणको मुख्य सिजनमै निर्माण सामग्रीको मूल्य अप्रत्यासित बढ्दा ५ हजारभन्दा बढी आयोजनाको काम प्रभावित भएको छ। कामलाई निरन्तरता दिने हो भने मूल्य समायोजना गरिदिन सरकारसँग व्यवसायीको माग छ ।
केही महिनादेखि पेट्रोलियम पदार्थ, फलामजन्य निर्माण सामग्री–छड, पाता लगायतको मूल्य अप्रत्यासित बढेको छ । यसरी मूल्य बढ्दा निर्माण कार्यको लागत बढ्न गएको र सामग्री समेत सहजै उपलब्ध नभएको भन्दै व्यवसायीहरुले बैशाख ११ गतेदेखि कन्स्ट्रक्सन होलिडे गर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।
सरकारले मूल्य समायोजन मार्गदर्शन जारी गरी मूल्य वृद्धिलाई सम्बोधन नगर्ने हो भने अवस्था सहज नभएकसम्म काम ठप्प पार्ने व्यवसायीको भनाइ छ । व्यवसायीले गर्न लागेको कन्स्ट्रक्सन होलिडेका कारण ८ खर्बका ५ हजारभन्दा बढी आयोजना प्रभावित हुने बताएको छ।
यसअघि २०६५ सालमा पनि निर्माण सामग्रीको मूल्य अप्रत्यासहित बढेपछि सरकारले मूल्य समायोजन मार्गदर्शन जारी गरि निर्माण कार्यमा सहजता प्रदान गरेको थियो । नेपालमा हिउँद याम सुरु भएसँगै पूर्वाधार निर्माणले गति लिने गर्छ । तर यो पटक व्यवसायीहरुको आन्दोलनले मूख्य सिजनमै निर्माण कार्य रोकिने भएको छ ।