‘मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था श्रीलंकाको जस्तो छैन’
काठमाडौं, २१ वैशाख । नेपालको अर्थतन्त्रको विद्यमान अवस्थालाई कतिपयले श्रीलंकासँग तुलना गरिरहँदा अर्थक्षेत्रका विज्ञहरूले भने यस्तो अवस्था नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठामाडौंमा गरेको छलफल कार्यक्रममा वक्ताहरूले नेपालको अर्थतन्त्र अप्ठ्यारोमा रहे पनि आत्तिहाल्नुपर्ने स्थिति भने नरहेको धारणा राखेका हुन् ।
मुख्य रुपमा बाह्य क्षेत्र र वित्तीय क्षेत्रमा देखिएको चापले अर्थतन्त्रमा चुनौती थपिए पनि समस्याको न्यूनीकरण हुँदै गएको अर्थ मन्त्रालयले बताएको छ । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले आयात बढ्दै गएकाले पछिल्लो समय देखिएको आर्थिक समस्या सन्तुलनका लागि निर्यात प्रवद्र्धनमा जोड दिइएको बताए । विगत ४० वर्षमा खस्किएको आर्थिक अवस्था विगत ३ वर्षदेखि पुर्न संकटोन्मुख हुँदा कृषि सामग्री समेत आयात गर्नुपरेकाले व्यवस्थापनका लागि मन्त्रालयले योजना बनाइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा पनि अर्थतन्त्र बिगार्ने शासकीय स्वरूप देखिन थालेको औंल्याए । उनले श्रीलंकामा शासकले हचुवाको निर्णय गर्दा समस्या बढेको भन्दै नेपालमा पनि त्यस्तै प्रवृत्ति हाबी हुन थालेकोले सचेत रहनुपर्नेमा सरकारलाई सुझाव दिए ।
अर्थशास्त्री वाग्लेले नेपालमा पनि राजनीतिक लाभका लागि सुपारी लगायत वस्तु आयातको विषयमा नीतिगत निर्णय भएकाले सतर्क रहनुपर्ने औंल्याए । श्रीलंकामा राजनीतिक लाभका लागि जे पनि गरे त्यसले स्थिति बिग्रिएको जानकारी दिँदै उनले जथाभावी रूपमा करको दरमा चलाउँदा समस्या भएको बताए । साथै कर नीति परिवर्तन गर्दा सजग हुनुपर्नेमा जोड दिए ।
अर्का अर्थ जानकार डा. विश्वास गौचनले केही वर्षदेखि देखिएको नेपालको आर्थिक अवस्थामा सुधार ल्याउन निजीक्षेत्रलाई प्राथमिकता दिनुका साथै निर्यात व्यापारमा जोड दिनुपर्ने सुझाए ।
कार्यक्रममा अन्तराष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख डा. मनिकलाल श्रेष्ठले आर्थिक व्यवस्थापनका लागि नीतिगत परिवर्तनको आवश्यकता भएको औंल्याए । बैंकर्स भुवन दाहालले अर्थतन्त्र बलियो पार्न रकम अभाव हुन नदिन सबै स्थानमा बैंकको पहुँच हुनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विश्वव्यापीकरण र व्यापारिक अवस्थामा रेमिट्यान्सलाई प्राथमिकता दिनुपर्ने बताए । यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक विकासमा व्यापारी उद्योगीलाई सँगै लैजानुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्को विकास भए मात्र आर्थिक उन्नति हुने धारणा राखे । यस्तै विश्व बैंककी वरिष्ठ अर्थशास्त्री एलिन्स जोआन ब्रुक्सले आर्थिक विकासका लागि विभिन्न देशको सहयोगका लागि नीति निर्माणमा सहज हुनुपर्ने उल्लेख गरिन् ।