बुटबल पावर कम्पनीले २ जलविद्युत आयोजनाको शेयर खरिद गर्ने
काठमाडौं, २४ वैशाख । बुटवल पावर कम्पनीले दुई जलविद्युत आयोजनाहरुको सम्पुर्ण शेयर खरिद गर्ने जानकारी दिएको छ ।
मस्र्याङदी नदीमा ६ सय मेगावाट क्षमताको अपर मस्र्याङदी जलविद्युत आयोजना निर्माण गर्दै आएको हिमताल हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडको सम्पुर्ण शेयरहरु बुटवल पावर कम्पनी, एससिआईजि इन्टरनेश्नल हाइड्रोज्वाइन्ट डेभलपमेन्ट कम्पनी तथा साझेदार तिन चिनियाँ कम्पनीहरु एससिआईजि इन्टरनेश्नल, सिङ्चेन्ड इन्टरनेश्नल इन्भेष्टमेन्ट कम्पनी र क्युवाइईसि इन्टरनेश्नल कम्पनी र आयोजना कम्पनीको विदेशी शेयरधनी जिएमआर इनर्जि लिमिटेड तथा स्थानिय शेयरधनीहरु बिच वैशाख २१ गते शेयर खरिद बिक्री सम्झौता भएको छ । उक्त सम्झौता अनुसार यस आयोजनामा बुटवल पावर कम्पनीको शेयर स्वामित्व १९.४ प्रतिशत र बाँकी चिनियाँ कम्पनीहरुको शेयर स्वामित्व रहने जनाइएको छ ।
यस्तै मस्र्याङदी नदीमा रहेको २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत आयोजना निर्माण गर्दै आएको मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडका सम्पुर्ण शेयर खरिद गर्नका लागि यस आयोजनाको विदेशी शेयरधनी राजरत्न इनर्जी होल्डिङ्स र स्थानिय शेयरधनी मस्र्याङदी पावर कम्पनी लिमिटेडसंग कम्पनीले गत चैत्र १५ गते सम्झौता गरेको थियो । यस आयोजनामा पनि चिनियाँ कम्पनीहरुको साझेदारी रहने छ ।