सुध्रिएन अर्थतन्त्रको खराब लय, मूल्यवृद्धि उकालो
काठमाडौं, २७ जेठ । चालु आर्थिक वर्षको सुरुदेखि नै खराब हुँदै गएका अर्थतन्त्रका बाह्य सूचकमा अझै सुधार देखिएको छैन। बैशाखसम्म आइपुग्दा विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोकिएको छैन । शोधनान्तर घटा फराकिलो हुँदै गएको छ भने मूल्यवृद्धि आकाशिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैशाख महिनामा मात्र ३३ करोड अमेरिकी डलर सञ्चिति घटेको छ । बैशाखस्ममको तथ्यांक अनुसार नेपालसँग अहिले ९ अर्ब २८ करोड अमेरिकी डलर सञ्चिति रहेको छ । चैत मसान्तसम्म यस्तो सञ्चिति ९ अर्ब ६१ करोड अमेरिकी डलर थियो ।
१० महिनासम्मको आयातको ट्रेन्ड अनुसार आयात भएमा यो सञ्चितले ६ महिना १५ दिनको वस्तु तथा सेवाको आयात गर्न सकिन्छ। यस्तो आयात धान्नसक्ने क्षमतामा पनि निरन्तर गिरावट आएको छ ।
अत्यावश्यक वस्तुबाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि सरकारले तीन महिनाका लागि २ सय बढी वस्तुको आायत नै प्रतिबन्ध लगाइसकेको छ । यसअघि राष्ट्र बैंकले लिएको नगद मार्जिनको प्रभाव भने न्यून परेको छ ।
१० महिनासम्मको तथ्यांकअनुसार अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था निरन्तर नाजुक रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार खराब सूचकले निरन्तरता पाएका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार रेमिट्यान्स घट्ने क्रम जारी छ । १० महिनाको तथ्यांकअनुसार रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा नेपाली रूपैयाँमा ०.२ प्रतिशतले बढेपनि अमेरिकी डलरमा भने १.६ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको रेमिट्यान्स दसैँतिहारजस्ता चाडपर्वमा पनि बढ्न सकेको थिएन । बैशाखसम्म लगातार रेमिट्यान्समा ह्रास देखिएको छ । यद्यपि फागुनदेखि घट्ने दरमा केही ब्रेक लागेको थियो। फागुनको तुलनामा चैतमा रेमिट्यान्स घट्ने क्रम घटेको थियो भने वैशाखसम्म पुग्दा नेपाली रुपैयाँमा वृद्धि देखिएको छ ।
१० महिनाको तथ्यांकअनुसार ५ खर्ब ४७ अर्ब ३६ करोडले चालु खाता घाटामा रहेको छ ।
शोधनान्तर घाटा पनि फराकिलो हुँदै गएको छ। चैतको तुलनामा वैशााखमै यस्तो घाटा २० अर्बले विस्तार भएर २ खर्ब ८८ अर्ब पुगेको छ। माघमा शोधनान्तर घटाको विस्तारमा केही ब्रेक लागेपनि बैशाखमा आएर फेरि तीव्र बनेको छ ।
पुसमा ४६ अर्बले घटा बढेको थियो । माघमा आएर त्यस्तो घाटा जम्मा ६ अर्बले विस्तार भएकोमा फागुनमा ११ अर्बले बढेको थियो। चैतमा यस्तो घाटा १० अर्बले विस्तार भएको थियो ।
विश्वभर देखिएको मूल्यवृद्धिको दबाबमा नेपाली अर्थतन्त्र पनि निरन्तर रहेको छ । वैदेशिक मुद्राको सञ्चिति अभावबाट गुज्रिएको नेपाली अर्थतन्त्रमा अहिले आएर बढ्दो मूल्यवृद्धि जोखिममा रुपमा उदाएको छ । पछिल्ला महिनादेखि मूल्यवृद्धि निरन्तर उकालो लागिरहेको छ ।
बैशाखमा वार्षिक विन्दुगत आधारमा मूल्यवृद्धि ७.८७ प्रतिशत पुगेको छ। चैतमा ७.२८ प्रतिशत थियो । विश्वव्यापी रुपमा मूल्यवृद्धि बढ्दै गएको छ। यसको प्रभाव नेपालमा पनि देखिँदै आएको छ । पछिल्लो समय नेपालमा पनि मूल्यवृद्धिको दबाब देखिनसक्ने भन्दै अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले सचेत गराउँदै आएका छन् । केही समयअघि मात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले मूल्यवृद्धिको उच्च दबाब देखिनसक्ने उल्लेख गरेको थियो ।
बढ्दो मूल्यवृद्धिसँगै जनजीवन प्रभावित हुनसक्ने भन्दै पछिल्लो समय संसदमै आवाज उठ्न थालेको छ । यद्यपि यसका बारेमा सरकारले ठोस कार्यक्रम अझैसम्म सार्वजनिक गरेको छैन ।